पर्सा । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियानअन्तर्गत पर्सामा नेपाल प्रहरीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा लिन सफल भएको छ। ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख समुन्त अधिकारीको कमाण्डमा सञ्चालन गरिएको संयुक्त अनुगमन तथा सुरक्षा अभियानका क्रममा उक्त काठ बरामद गरिएको हो।
पछिल्लो समय वन क्षेत्रमा बढ्दै गएको अवैध कटानी, चोरी निकासी तथा वन विनाश नियन्त्रणका लागि सुरक्षा निकाय र वन कार्यालयबीचको सहकार्य प्रभावकारी बन्दै गएको स्थानीयले बताएका छन्। उक्त अभियानमा सबैया सब डिभिजन वन कार्यालयका रेन्जर भुपाल रोकाय, कविता दास, वन कर्मचारी लक्ष्मी साह कानु तथा अरविन्द कुमारको सक्रिय सहभागिता रहेको थियो।
त्यसैगरी प्रहरी चौकी बढनियारका इन्चार्ज असई धर्मराज उप्रेती, सबैया साझेदारी वन उपभोक्ता समूहका उपाध्यक्ष असलम आलम र सदस्य श्रवण प्रसाद साहलगायत स्थानीय वन उपभोक्ताको समेत उल्लेखनीय सहभागिता रहेको जनाइएको छ। यस अभियानमा सशस्त्र प्रहरी बल नेपाल तर्फबाट सई नारायण अधिकारीसहित पाँच सदस्यीय टोलीको समेत सहभागिता रहेको थियो। संयुक्त टोलीले वन क्षेत्रमा निगरानी बढाउँदै अवैध काठ ओसारपसार रोक्न विशेष चेकजाँच तथा अनुगमन सञ्चालन गरेको जनाएको छ।
वन क्षेत्र प्राकृतिक सम्पदाको महत्वपूर्ण आधार भएकाले यसको संरक्षण, संवर्द्धन र दिगो उपयोग सबैको साझा दायित्व भएको सरोकारवालाहरूले बताएका छन्। पछिल्लो समय सामुदायिक तथा साझेदारी वन क्षेत्रको संरक्षणमा स्थानीय समुदाय, सुरक्षा निकाय र वन कार्यालयबीचको सहकार्यले सकारात्मक परिणाम दिन थालेको जनाइएको छ।
स्थानीयवासीका अनुसार वन संरक्षण अभियानलाई निरन्तरता दिँदै अवैध कटानी तथा तस्करीमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिनुपर्ने आवश्यकता रहेको छ। वन जोगिए वातावरण संरक्षण, जैविक विविधता, वन्यजन्तु संरक्षण तथा भावी पुस्ताको प्राकृतिक अधिकार सुरक्षित रहने सरोकारवालाहरूको भनाइ छ। सुरक्षा निकायले आगामी दिनमा समेत वन अतिक्रमण, चोरी निकासी र अवैध गतिविधिविरुद्ध संयुक्त अभियानलाई अझ सशक्त बनाइने जनाएको छ।