ढल्केबर । मधेश प्रदेशका प्रमुख प्रा. डा. सुरेन्द्रलाल कर्णले विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ । धनुषाको लालगढमा आयोजित विद्युतीय चुल्हो नमुना परियोजनाको सिकाइ तथा उपलब्धि विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा विद्युत उत्पादन उल्लेखनीय रूपमा वृद्धि भएकाले विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्ने बताउनुभयो ।
उहाँले नेपालमा बढ्दो जलविद्युत उत्पादनको प्रभावकारी उपयोग गर्दै मधेश प्रदेशलाई विद्युतीय चुल्हो प्रयोगमा देशकै नमुना प्रदेश बनाउन सकिने धारणा राख्नुभयो । प्रदेश प्रमुख कर्णले विद्युतलाई केवल ऊर्जाको स्रोत मात्र नभई समाज रूपान्तरणको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले विद्युतीय चुल्होको प्रयोगले महिलाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै दाउरा, गुइँठा तथा एलपी ग्यासमा निर्भरता घटाउने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “विद्युतीय चुल्हो प्रत्यक्ष रूपमा आमा, दिदीबहिनी र घरपरिवारको स्वास्थ्यसँग जोडिएको विषय हो । पहिले धुवाँयुक्त चुल्होका कारण महिला आँखा तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित हुन्थे । अहिले विद्युतको पहुँच बढेसँगै सुरक्षित र स्वच्छ खाना पकाउने विकल्प उपलब्ध भएको छ ।” उहाँले नेपालले वार्षिक रूपमा ग्यास आयातमा ठूलो रकम खर्च गरिरहेको उल्लेख गर्दै विद्युतीय चुल्होको व्यापक प्रयोगबाट विदेशी मुद्रा बचत हुने र ऊर्जा आत्मनिर्भरता बलियो बन्ने बताउनुभयो ।
प्रदेश प्रमुख कर्णले मधेश प्रदेशका करिब सबै घरधुरीमा विद्युतको पहुँच पुगिसकेको उल्लेख गर्दै आगामी दुई ÷ तीन वर्षभित्र प्रदेशलाई विद्युतीय चुल्हो प्रयोगमा देशकै अग्रणी क्षेत्रका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा ऊर्जा विज्ञ पुरुषोत्तम घिमिरेले विद्युतीय चुल्हो खरिद गर्दा गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्दै सस्तोभन्दा पनि प्रमाणित सामग्रीको प्रयोग गर्न उपभोक्तालाई सुझाव दिनुभयो । गुणस्तरीय उपकरणको प्रयोगले दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो सेवा प्राप्त हुने उहाँको भनाइ थियो ।
गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादवले विकासलाई सडक, पुल र भवन निर्माणमा मात्र सीमित गर्न नहुने बताउँदै महिलाको स्वास्थ्य र जीवनस्तरसँग प्रत्यक्ष जोडिएको स्वच्छ भान्सा अभियानलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । परम्परागत चुल्होबाट निस्कने धुवाँले महिलाको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले विद्युतीय चुल्हो प्रवद्र्धनलाई नगरपालिकाले अभियानकै रूपमा अघि बढाएको उहाँको भनाइ थियो ।
उहाँले नगरपालिकाले नवीकरणीय ऊर्जा नीति पारित गरी विद्युतीय चुल्हो प्रवद्र्धनका लागि बजेट विनियोजन गरेको जानकारी दिँदै हालसम्म पाँच सयभन्दा बढी गृहिणीलाई निःशुल्क विद्युतीय प्रेसर कुकर वितरण गरिएको बताउनुभयो । आगामी आर्थिक वर्षमा थप एक हजारभन्दा बढी विद्युतीय चुल्हो वितरण गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका ३० भन्दा बढी स्थानीय जनप्रतिनिधि, ऊर्जा क्षेत्रका विज्ञ, विकास साझेदार संस्था तथा विभिन्न पालिकाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गोरखापत्र अनलाइन