वीरगञ्ज । नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा चिकित्सा शिक्षा विभाग, इन्स्टिच्युट अफ मेडिसिन (IOM), काठमाडौंको सहकार्यमा सञ्चालन भएको ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (Faculty Development Training–FDT) कार्यक्रम आज समापन भएको छ। ७ देखि १२ असार २०८३ सम्म सञ्चालन भएको उक्त तालिम चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि तथा शिक्षकहरूको शिक्षण क्षमता विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो।
कलेजको IBMS ब्लकस्थित कन्फरेन्स हलमा आयोजित समापन समारोहको अध्यक्षता नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहले गर्नुभएको थियो। कार्यक्रममा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दीन अन्सारी प्रमुख अतिथि रहनुभएको थियो भने इन्स्टिच्युट अफ मेडिसिनका प्रा. डा. निर्जु रञ्जित, प्रा. डा. संघरत्न बज्राचार्य तथा प्रा. डा. रमेश आचार्य अतिथिको रूपमा सहभागी हुनुभएको थियो।
यस अवसरमा नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक डा. इशरत जहान , एडमिसन तथा मार्केटिङ निर्देशक अबिद हुसेन अन्सारी, उप-प्राचार्य डा. रविशंकर गुप्ता तथा नेशनल मेडिकल कलेज नर्सिङ क्याम्पसकी उप-प्राचार्य प्रा. डा. बबिता सिंहलगायतको विशेष उपस्थिति रहेको थियो।

समापन समारोहमा सहभागीहरूको तर्फबाट तालिमसम्बन्धी अनुभव तथा सिकाइ प्रस्तुत गरिएको थियो। त्यसपछि विभिन्न वक्ताहरूले फ्याकल्टी डेभलपमेन्ट कार्यक्रमले चिकित्सा शिक्षामा आधुनिक शिक्षण पद्धति, प्रभावकारी विद्यार्थी मूल्याङ्कन, अनुसन्धान प्रवर्द्धन तथा व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख अतिथि प्रा. डा. जैनुद्दीन अन्सारीले संस्थाले शैक्षिक उत्कृष्टता कायम राख्न यस्ता क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सहभागी सम्पूर्ण प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रमको समापन अवसरमा तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीहरूलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूद्वारा प्रमाणपत्र वितरण गरिएको थियो। अन्त्यमा नेशनल मेडिकल कलेजका उप-प्राचार्य डा. रविशंकर गुप्ताले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभयो।

६ दिनसम्म सञ्चालन भएको यस तालिममा चिकित्सा शिक्षासँग सम्बन्धित विभिन्न विषयहरूमा विशेषज्ञ प्रशिक्षकहरूले सहजीकरण गर्नुभएको थियो। कार्यक्रमले सहभागी शिक्षकहरूको ज्ञान, सीप तथा शिक्षण क्षमतामा उल्लेखनीय अभिवृद्धि भएको विश्वास व्यक्त गरिएको छ।