वीरगंज । पर्साको पकाहाँमैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद मेहतामाथि सार्वजनिक स्रोतको दुरुपयोग, आर्थिक अनियमितता, राजस्व हिनामिना तथा गाउँसभालाई प्रभावहीन बनाएको आरोप लगाउँदै जनप्रतिनिधिहरूले निष्पक्ष छानबिनको माग गरेका छन्। जनप्रतिनिधिहरूले दाबी गरे अनुसार अध्यक्ष मेहताले आफ्नो पारिवारिक प्रयोजनका लागि गाउँपालिकाको स्रोत–साधन प्रयोग गरेको, विकास निर्माणका नाममा ग्रेबल छर्ने कार्य देखाएर लाखौं रुपैयाँ भुक्तानी लिने गरेको तथा सार्वजनिक बजेटलाई व्यक्तिगत स्वार्थमा प्रयोग गरेको आरोप लगाएका छन्।
छोरी र छोराको विवाहसँग जोडिएका खर्चबारे प्रश्न
जनप्रतिनिधिहरूका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा अध्यक्ष मेहताको छोरीको विवाहको समयमा विभिन्न स्थानमा ग्रेबल छरेको देखाई करिब २० लाख रुपैयाँ बराबरको भुक्तानी गरिएको भन्ने आरोप छ। त्यस्तै विद्यालयका दिवा खाजा कार्यक्रमको बजेटबाट समेत रकम अन्यत्र प्रयोग गरिएको दाबी गरिएको छ। त्यसैगरी चालु आर्थिक वर्ष २०८३/०८४ मा अध्यक्षका छोराको विवाहको तयारीका क्रममा पुनः ग्रेबलको नाममा २०–२५ लाख रुपैयाँ बराबरको भुक्तानी गराउने प्रयास भएको तर जनप्रतिनिधिहरूले त्यसमा आपत्ति जनाएपछि प्रक्रिया रोकिएको एक वडाध्यक्षले नाम प्रकाशित नगर्ने सर्तमा बताएको छ । यस सम्बन्धमा गाउँपालिकाका लेखा शाखा, प्राविधिक शाखा, कोष तथा लेखा नियन्त्रक कार्यालय र सम्बन्धित निकायका भुक्तानी विवरण तथा कार्य सम्पन्न प्रतिवेदन सार्वजनिक हुन बाँकी छन्।
कर्मचारीमाथि दबाब दिएको आरोप
केही जनप्रतिनिधिहरूले अध्यक्षले करार तथा स्थायी कर्मचारीलाई आर्थिक दबाब दिने, रकम उपलब्ध गराउन बाध्य पार्ने तथा असहमति जनाउने कर्मचारीमाथि गालीगलौज र धम्की दिने गरेको आरोप पनि लगाएका छन्। यदि यस्ता आरोप सत्य भए, यसले स्थानीय सरकार सञ्चालन ऐन, निजामती आचारसंहिता तथा भ्रष्टाचार निवारण सम्बन्धी कानुनी व्यवस्थामाथि गम्भीर प्रश्न उठाउने देखिन्छ ।
आर्थिक सहयोग कार्यक्रममाथि पनि प्रश्न
आर्थिक वर्ष २०८२/०८३ मा गरिब तथा विपन्न नागरिकका लागि छुट्याइएको करिब १७ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग कार्यक्रम आफ्ना निकट व्यक्तिहरूको नाममा वितरण गरिएको आरोप पनि जनप्रतिनिधिहरूले लगाएका छन्। यस विषयमा लाभग्राहीको सूची, निर्णय पुस्तिका, कार्यपालिका बैठकको निर्णय, बैंक भुक्तानी विवरण तथा सिफारिस कागजात सार्वजनिक गरेर वास्तविकता स्पष्ट पार्नुपर्ने माग उठेको छ।
गाउँपालिकाको उपकरण निजी प्रयोजनमा प्रयोग भएको आरोप
जनप्रतिनिधिहरूको दाबीअनुसार गाउँपालिकाको जेसीबी लगायतका उपकरण निजी प्रयोजनमा निःशुल्क प्रयोग गरिँदा गाउँपालिकाले पाउनुपर्ने राजस्वमा समेत क्षति पुगेको छ। यसबारे उपकरण सञ्चालन लगबुक, इन्धन खर्च, चालकको हाजिरी, राजस्व अभिलेख तथा कार्यादेश सार्वजनिक भए वास्तविकता प्रस्ट हुने सरोकारवालाको भनाइ छ।
समयमै बजेट नल्याएको आरोप
जनप्रतिनिधिहरूले अध्यक्ष मेहताले आफ्नो कार्यकालभर कुनै पनि आर्थिक वर्षमा कानुनले तोकेको समयभित्र बजेट पारित नगरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार आर्थिक वर्ष २०८२/०८३ को गाउँसभा साउन महिनामा बोलाइए पनि अध्यक्षले सभा नै छाडेको र त्यसपछि किस्ताबन्दी रूपमा बजेट पारित गराउँदै वैशाखपछि मात्र योजना सञ्चालनको अनुमति दिएको दाबी गरिएको छ। चालु आर्थिक वर्ष २०८३/०८४ मा समेत गाउँसभा सम्पन्न नभएको, बजेट पारित हुन नसकेको तथा कर्मचारी प्रशासन अन्योलमा रहेको जनप्रतिनिधिहरूको भनाइ रहेको छ ।