काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संगठनका तर्फबाट १५ करोड ५० लाख रुपियाँ जम्मा गर्ने भएको छ । कर्मचारीको तलबबाट रकम कट्टा गरी उक्त कोषमा जम्मा गरिनेछ ।यसैगरी, बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई तत्काल २५ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।
राहत कोषमा योगदानका लागि सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले १५ दिनको, नायब महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिनको, उपरीक्षक, नायब उपरीक्षक र निरीक्षकले १० दिनको, जुनियर अधिकृतले सात दिनको, वरिष्ठ हवल्दारदेखि जवानसम्मले पाँच दिनको तथा सशस्त्र प्रहरी परिचरले तीन दिनको तलबबराबरको रकम योगदान गर्नेछन् ।
बिओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीको हकमा भने तलबबाट रकम कट्टा गरिने छैन । बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई राष्ट्रसेवकका तर्फबाट तत्काल १५ लाख रुपियाँ, ‘सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला–आश्रित परिवारलाई उपलब्ध गराउने राहतसम्बन्धी कार्यविधि, २०७९’ बमोजिम पाँच लाख रुपियाँ तथा ‘सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१’ बमोजिम पाँच लाख रुपियाँ गरी कुल २५ लाख रुपियाँ तत्काल उपलब्ध गराउने निर्णय भएको छ ।
यसका साथै मृतक कर्मचारीले कल्याण कोषबाट लिएको ऋणको भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने निर्णय गरिएको छ । मृतक कर्मचारीका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छुट गर्ने निर्णयसमेत गरिएको छ ।
बाढीका कारण सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति एक लाख रुपियाँ राहतस्वरूप तत्काल उपलब्ध गराइनेछ । सोही बाढीका कारण मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीको स्मृतिमा संगठनका तर्फबाट उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णयसमेत भएको छ ।
मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका एक–एक जना सदस्यलाई सीपमूलक तालिम प्रदान गरिनेछ । सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल पाँच जना सशस्त्र प्रहरी कर्मचारीलाई राहतस्वरूप जनही ५० हजार रुपियाँ तत्काल उपलब्ध गराउने निर्णय गरिएको छ ।
यसैगरी बाढी प्रभावित अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा एक लाख रुपियाँ, घरबारविहीन भएमा एक लाख रुपियाँ तथा आंशिक रूपमा भौतिक संरचनामा क्षति पुगेका र घाइतेलाई ५० हजार रुपियाँसम्म तत्काल उपलब्ध गराउने निर्णय गरिएको सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।