काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीको केन्द्रीय नेतृत्वमा पुग्न आकांक्षी नेताहरूले आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन्। यही क्रममा मुस्लिम समुदायबाट सहराम राउत गद्दीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
पार्टीभित्र समावेशी प्रतिनिधित्व, संगठन सुदृढीकरण तथा मुस्लिम समुदायको राजनीतिक सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै गद्दीले आफ्नो उम्मेदवारी अघि सार्नुभएको हो।
नेपाली कांग्रेसको मूल आदर्श “राष्ट्रियता, लोकतन्त्र र समाजवाद”लाई राजनीतिक मार्गदर्शनका रूपमा आत्मसात् गर्दै आफूले पार्टी संगठनलाई अझ सुदृढ, गतिशील र जनमुखी बनाउन भूमिका निर्वाह गर्ने गद्दीको प्रतिबद्धता छ।
गद्दीले कांग्रेसका संस्थापक तथा अग्रज नेताहरूले स्थापित गरेका लोकतान्त्रिक मूल्य, राजनीतिक आदर्श र संगठनात्मक संस्कारलाई निरन्तरता दिँदै पार्टीको केन्द्रीय तहमा मुस्लिम समुदायको आवाजलाई थप प्रभावकारी ढंगले स्थापित गर्ने उद्देश्य रहेको बताउनुभएको छ।
मुस्लिम समुदाय नेपालको राजनीतिक, सामाजिक तथा लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण हिस्सा भए पनि पार्टीको केन्द्रीय नेतृत्वमा अपेक्षित प्रतिनिधित्व अझै सुनिश्चित हुन नसकेको अवस्थामा आफ्नो उम्मेदवारीलाई समुदायको अधिकार, पहुँच र नेतृत्व विकाससँग जोडेर हेरिएको गद्दीको भनाइ छ।
उहाँले कांग्रेसभित्र सबै समुदाय, वर्ग, क्षेत्र र समूहको समान सहभागिता आवश्यक रहेको उल्लेख गर्दै समावेशी कांग्रेस निर्माणका लागि आफूले केन्द्रीय समितिमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
महाधिवेशन प्रतिनिधिहरूलाई लक्षित गर्दै गद्दीले आफ्नो उम्मेदवारीलाई केवल व्यक्तिगत राजनीतिक आकांक्षाका रूपमा नभई मुस्लिम समुदायको राजनीतिक प्रतिनिधित्व र सशक्त आवाजको अभियानका रूपमा बुझिदिन आग्रह गर्नुभएको छ। उहाँले १५औँ महाधिवेशनका प्रतिनिधिहरूसँग आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन अपिलसमेत गर्नुभएको छ।
गद्दीको मुख्य राजनीतिक एजेन्डा
- कांग्रेसभित्र मुस्लिम समुदायको सशक्त प्रतिनिधित्व
- पार्टी संगठनको सुदृढीकरण र विस्तार
- सबै समुदायबीच समान राजनीतिक सहभागिता
- मुस्लिम समुदायका युवालाई राजनीतिक नेतृत्वमा स्थापित गर्ने पहल
- राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूल आदर्शको संरक्षण
- पार्टीलाई थप समावेशी, जनमुखी र लोकतान्त्रिक बनाउने प्रतिबद्धता