परासी । नारायणी नदीमा आएको बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको सुस्ता गाउँबस्तीका घरमा तीन फिटसम्म बालुवा भरिएको छ । बाढीले बस्तीका घरआँगन र सडकमा दुईदेखि तीन फिटसम्म बालुवा र लेदो थुप्रिएपछि स्थानीयको जनजीवन प्रभावित भएको छ ।
बाढीका कारण सुस्ताको थारू टोल, बड्की टोल, सैनिक टोल र क्याम्प टोल बढी प्रभावित भएका छन् । बस्तीका कतिपय घरभित्रै तीन फिटसम्म बालुवा र लेदो भरिएको छ भने केही घर आधासम्म पुरिएका छन् । कच्ची घर तथा छाप्रा भत्किएका छन् । बाढीले बगाएर ल्याएका रुखका हाँगा, स्याउलासोत्तर, काठसमेत घरआँगन तथा सडकआसपास थुप्रिएका छन् ।
स्थानीय मुन्सी कुमारले भन्नुभयो, “यहाँका हरेक घरभित्रै दुईदेखि तीन फिटसम्म बालुवा भरिएको छ । अहिले घरमा बस्नसमेत समस्या भएको छ । तत्काल राहत र सुरक्षित वासस्थानको व्यवस्था हुनु पर्छ । दीर्घकालीन रूपमा बाढी नियन्त्रणको व्यवस्था आवश्यक छ ।”
बाढीले घरमा क्षति पुर्याउनुका साथै खेतबारीको जमिन कटान गरेको र बालीनाली नष्ट गरेको स्थानीयले बताएका छन् । बाढीपछि घरभित्र थुप्रिएको बालुवा र लेदो हटाउन नसक्दा प्रभावित परिवारलाई घरमा बस्नसमेत समस्या भएको छ ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बाढी प्रभावितलाई तत्काल राहत र आवश्यक उद्धारको व्यवस्था गर्नुपर्ने बताउँदै नारायणी नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाएर बलियो तटबन्ध निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
सुस्ता क्षेत्र नारायणी नदीको कटान र बाढीको जोखिममा पर्दै आएको क्षेत्र हो । हरेक वर्ष नारायणी नदीमा आउने बाढीका कारण खेतीयोग्य जमिन कटान हुने तथा बस्ती प्रभावित हुने समस्या दोहोरिँदै आएको स्थानीयको भनाइ छ । पछिल्लो बाढीपछि घरभित्र थुप्रिएको बालुवा र लेदो हटाउनुका साथै क्षतिग्रस्त संरचना पुनर्निर्माण र नदी कटान नियन्त्रणका लागि तत्काल पहल आवश्यक देखिएको छ ।