सप्तरी । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी बेपत्ता भएका सप्तरीका ५२ जनाको नाम जिल्ला विपद् व्यवस्थापन समितिले यकिन गरेको छ । लामो समयदेखि बेपत्ताको आधिकारिक विवरणको प्रतीक्षामा रहेका परिवारका लागि जिल्ला प्रशासन कार्यालयले स्थानीय तहबाट प्राप्त प्रमाण तथा कागजातका आधारमा यकिन गरिएको नामावली सम्बन्धित माथिल्लो निकायमा पठाउने निर्णय गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बेपत्ता व्यक्तिहरूको विवरण आधिकारिक रूपमा यकिन गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा उक्त विवरण पठाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
’रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३’ तथा विपद्सम्बन्धी ऐन संशोधन गर्न बनेको अध्यादेशमा भएको व्यवस्थाअनुसार जिल्लाका सबै स्थानीय तहलाई बेपत्ता व्यक्तिको विवरण यकिन गरी पठाउन पत्राचार गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले गत कात्तिक ९ गते स्थानीय तहलाई आवश्यक प्रक्रिया पूरा गरी विवरण उपलब्ध गराउन पत्राचार गरेको थियो । सोहीअनुसार स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकबाट स्वीकृत भई आएका विवरण, प्रमाण तथा कागजातका आधारमा जिल्ला विपद् व्यवस्थापन समितिले ५२ जनाको नाम यकिन गरेको हो ।
समितिले यकिन गरेको विवरणअनुसार बेपत्ता हुनेमा शम्भुनाथ नगरपालिका, खडक नगरपालिका, सुरुङ्गा नगरपालिका, राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, विष्णुपुर गाउँपालिका, महादेवा गाउँपालिका, राजगढ गाउँपालिका, तिरहुत गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, कञ्चनरूप नगरपालिका, सप्तकोशी नगरपालिका र बोदेबरसाइन नगरपालिकाका बासिन्दा रहेका छन् ।
यसैगरी शम्भुनाथका सुरेन्द्रदेव चौधरी,। दिपेन्द्र चौधरी, हृदयनारायण चौधरी, रमेशकुमार चौधरी, त्रिभुवन मण्डल, प्रेमसागर चौधरी, पिताम्बरप्रसाद दास, ओमप्रकाश चौधरी, साजन चौधरी, खडकका राज पासवान, सुरज मण्डल, हेमनारायण साह, शिवकुमार पासवान, अनिलकुमार चौधरी, गीताकुमारी राम, सन्तोष चौधरी, प्रवेशकुमार चौधरी रहेका छन ।
यस्तै, सुरुङ्गाका सरोज चौधरी, गीताकुमारी राम, दिवान्सकुमार राम, राजविराज नपाका रोशन यादव, सुरेन सदा रिखियासन, शिवकुमार सदा, बेचुन सदा, तिलाठीकोइलाडी गापाका अभिषेक सिंह, दिलिपकुमार मण्डल, मनिषकुमार मण्डल, राजमणि साह हलुवाई, अग्नीसाइर कृष्णसवरण गापाका अनिलाकुमार विश्वकर्मा, ललितकुमार चौधरी छन ।
यसैगरी विष्णुपुर गापाका इन्जिनियर अजयकुमार यादव, ओमनारायण यादव, महदेवा गापाका सन्तोषकुमार यादव, इन्द्रनारायण इसर, देवकुमार इसर, राजगढ गापाका राजिवकुमार सिंह, विजयकुमार यादव, तिरहुत गापाका अशोक यादव, रविन्द्रकुमार यादव, डाक्नेश्वरी नपाका निशितकुमार पासवान, अकलेशकुमार पासवान, अभिनाशकुमार पण्डित, कञ्चनरुप नपाका मुकेशकुमार सदा, बिनोदकुमार सदा, बिनोदकुमार सदा, अमरकान्त चौधरी, नवीन श्रेष्ठ, सप्तकोशी नपाका देवानन्द चौधरी, बोदेबरसाईन नपाका देवकुमार यादव, शिवकुमार यादव, सचितकुमार यादव र शिवकुमार यादवको नाम बेपत्ता यकिन सूचीमा रहेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बेपत्ता व्यक्तिहरूको विवरणलाई आधिकारिक अभिलेखमा समावेश गरी विपद्सम्बन्धी कानुनी तथा प्रशासनिक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउन लागिएको हो । बाढीमा परी बेपत्ता भएका व्यक्तिका परिवारले लामो समयदेखि आधिकारिक विवरण, खोजी तथा राहत र क्षतिपूर्तिसम्बन्धी प्रक्रियाको प्रतीक्षामा छन् । गोरखापत्र अनलाइन