वीरगञ्ज । पर्सा जिल्लामा रहेका कुल मतदातामा २९ हजार ५ सय ६८ जना मतदाता बढेका छन् । निर्वाचन कार्यालयले जारी गरेको सुचना अनुसार भदौ १५ गतेसम्म मतदाता नामावली दर्ता गरेका तथा यस अवधिसम्म १८ वर्ष पूरा भएका मतदाता २९ हजार ५ सय ६८ जना रहेका छन् । गत निर्वाचनमा ३ लाख ५२ हजार ४ सय ८४ जना मतदाता रहेको पर्सा जिल्लामा अब कुल तीन लाख ८२ हजार ५२ जना मतदाता भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय, पर्साका सूचना अधिकारी अरुण कुमार ठाकुरका अनुसार पर्साको एक महानगरसहित १४ स्थानीय तहमा कुल तीन लाख ८२ हजार ५२ जना मतदाता रहेका छन् ।
पर्सा जिल्लामा पुरुष मतदाताको सङ्ख्या महिलाभन्दा ४७ हजार ८२३ ले बढेको तथ्याङ्कले देखाएको छ । पर्सामा दुई लाख १४ हजार ९३० पुरुष र एक लाख ६७ हजार १०७ महिला मतदाता रहेका छन् । त्यस्तै, अन्य समूहका १५ जना मतदाता रहेको कार्यालयले जनाएको छ ।
पर्सा जिल्लाका १४ स्थानीय तहमध्ये महानगरमा मात्रै सबैभन्दा बढी एक लाख चार हजार १७ जना मतदाता रहेका छन् । त्यसैगरी, बहुदरमाई नगरपालिकामा २७ हजार ६२३, पर्सागढी नगरपालिकामा २४ हजार ३२०, पोखरिया नगरपालिकामा २१ हजार ६७२ र सखुवाप्रसौनी गाउँपालिकामा २१ हजार ३६४ जना मतदाता रहेका छन् ।
त्यसैगरी, जगरनाथपुर गापामा २० हजार ९०३, विन्दवासिनी गापामा १६ हजार २६२, छिपहरमाई गापामा १६ हजार सात, पटेर्वासुगौली गापामा १५ हजार ४०७ र ठोरी गापामा १५ हजार २८५ जना मतदाता रहेका छन् । कालिकामाई गापामा १४ हजार ४५८, जीराभवानी गापामा १४ हजार ७६, धोबिनी गापामा १३ हजार १२३ र पकाहामैनपुर गापामा १३ हजार १०३ जना मतदाता रहेको विवरणमा उल्लेख छ । गोरखापत्र अनलाइन