रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका –४ धनसर पुल नजिकै पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रक र स्कार्पियो एकआपसमा ठोक्किँदा सात जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बुधबार बिहान ४ः३० बजे पोखरादेखि हरिवन सर्लाही आउँदै गरेको गण्डकी बि ए ए ०८०४ नम्बरको स्कार्पियो गाडी र विपरीत दिशाबाट जाँदै गरेको प्र– १ ०२– ००१ ख ९४१० नम्बर को ट्रक एक आपसमा ठोक्किँदा स्कार्पियो र ट्रकका चालकसहित सातजना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
सामान्य घाइतेहरुको हाइवे ट्रमा अस्पताल चन्द्रनिगाहपुरमा तथा गम्भीर घाइतेहरुको एलएस न्यूरो अस्पताल परवानीपुर, बारामा उपचार भइरहेको छ ।
हाइवे ट्रमा अस्पताल चन्द्रनिगाहपुरमा उपचार हुनेमा स्कार्पियो चालक कास्की जिल्ला पोखरा–११ का ४९ वर्षीय विष्णुप्रसाद पौडेल, सोही ठाउँका दामोदर अधिकारीको श्रीमती ५६ वर्षीया मीरा अधिकारी, पार्वती गुरुङ र ट्रक चालक बारा सिमरा जितपुर –२ बस्ने ३२ वर्षीय शिव आले मगर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
स्कार्पियो गाडिमा सवार रोहन टण्डुकारकी ५४ वर्षीया श्रीमती सोनु माया पाइजाकोको अवस्था गम्भीर छ । त्यस्तै मदन गुरुङकी ३४ वर्षीय श्रीमती भगवती गुरुङको टाउको फुटेको छ तथा सोही ठाउँ वडा नम्बर १८ बस्ने ५७ वर्षीय वृद्धिमाया पुनको टाउकोमा सामान्य चोट लागेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका अनुसार तीनै जनाको एल एस न्यूरो अस्पताल परवानीपुर, बारामा उपचार भइरहेको छ ।
स्कार्पियोमा सवार कास्की जिल्ला पोखरा–११ बस्ने ६५ वर्षीय दामोदर अधिकारी र ट्रकका सहचालक धादिङ् जिल्ला नीलकनठ नगरपालिका –२ बस्ने २९ वर्षीय राजन थापा सकुशल रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
बिहान बाटो अवरुद्ध भए पछि घटनास्थलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले अवरुद्ध बाटो सुचारु गराएको तथा स्कार्पियो गाडी र ट्रकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अधिकारिले जानकारी दिनुभयो ।