काठमाडौँ । तिहार तथा छठ पर्वलाई लक्षित गरी सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाएको सशस्त्र प्रहरी बल, नेपालले अवैध रूपमा भित्र्याइएका पटका बरामद गर्ने अभियान तीव्र बनाएको छ । चाडपर्वका समयमा पटका ओसारपसार, बिक्री वितरण र प्रयोगबाट हुन सक्ने आगलागी तथा मानवीय र भौतिक क्षति रोक्न सशस्त्र प्रहरीले सीमा नाका तथा संवेदनशील क्षेत्रमा चेकजाँच कडा पारेको छ ।
यसैक्रममा सशस्त्र प्रहरीले चालु आर्थिक वर्ष २०८३र८४ को साउनदेखि कात्तिक २० गतेसम्म देशका विभिन्न स्थानबाट एक करोड २१ लाख २८ हजार ६६९ रुपैयाँ बराबरको अवैध पटका बरामद गरेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप छ लाख ५९ हजार ५४० रुपैयाँ बराबरको पटका बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सबैभन्दा बढी मधेश प्रदेशबाट ७४ लाख ३१ हजार ९०९ रुपैयाँ बराबरको पटका बरामद भएको छ । त्यस्तै, लुम्बिनी प्रदेशबाट १८ लाख ३२ हजार २१२ रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट १४ लाख ८० हजार ३९८ रुपैयाँ, कोशी प्रदेशबाट ११ लाख ४९ हजार ३५० रुपैयाँ र बागमती प्रदेशबाट दुई लाख ३५ हजार रुपैयाँ बराबरको पटका नियन्त्रणमा लिइएको छ ।
विशेषगरी खुला सीमाको प्रयोग गरी लुकाइछिपाइ पटका नेपाल भित्र्याउने, ओसारपसार गर्ने तथा बजारमा बिक्री वितरण गर्ने गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी बढाएको छ । चाडपर्वको समयमा यस्ता गतिविधि बढ्न सक्ने भएकाले सीमा क्षेत्रका नाकाहरूमा नियमित गस्ती, चेकजाँच तथा निगरानीलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
पटका तथा अन्य विस्फोटक प्रकृतिका आतसबाजीको प्रयोगले आगलागी, दुर्घटना, मानवीय तथा भौतिक क्षति हुनुका साथै ध्वनि र वायु प्रदूषणसमेत बढाउने जोखिम रहन्छ । विशेषगरी बालबालिका तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै अवैध पटका कारोबार नियन्त्रणलाई प्राथमिकतामा राखिएको सशस्त्र प्रहरीको भनाइ छ ।
तिहार र छठ पर्वलाई सुरक्षित, मर्यादित तथा दुर्घटनारहित बनाउन सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणसँगै पटका ओसारपसार र बिक्री वितरणविरुद्धको अभियानलाई निरन्तरता दिइने सशस्त्र प्रहरीले जनाएको छ । गोरखापत्र अनलाइन