काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) को आयोजनामा आगामी बुधवारदेखि ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेलका लागि घोषणा गरेको १५ सदस्यीय टोली ओमान पुगेको जनाएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी-२० सिरिज खेल्न गएको १६ सदस्यीय टोलीका सदस्यमध्ये साहब आलम टोलीबाट बाहिरिएका छन् ।
टोलीमा सन्दीप लामिछाने पनि परेका छन् । यसअघि उनले वेस्ट इण्डिजसँगको सिरिजको पहिलो खेल शुरु हुन करिब ४५ मिनेटअगाडि मैदानमा उत्रन अस्वीकार गरेपछि क्यानले उनलाई उक्त सिरिजको अन्तिम दुई खेलमा निलम्बनको कारबाही गरेको थियो ।
छनोट खेलका निम्ति चयन भएका अन्य खेलाडीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित सन्दीप जोरा, सन्दीप लामिछाने, कुशल भूर्तेल, लोकेश बम, कुशल मल्ल र आसिफ शेख छन् ।
आदिल आलम, करण केसी, नन्दन यादव, आरिफ शेख, ललितनारायण राजवंशी, गुलशन झा र सोमपाल कामीलाई टोलीमा समेटिएको छ । क्यानका अनुसार प्रतियोगिताका लागि नेपाली टोली ओमान पुगिसकेको छ ।