वीरगंज । पर्सा जिल्ला क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शुशिल साह कानुले आफ्नो चुनावी घरदैलो अभियान अन्तर्गत आज बिहान वीरगंज महानगरपालिका वडा नं. ३ मा मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ।
घरदैलो क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग संवाद गर्दै आफ्नो राजनीतिक धारणा राख्नुका साथै समर्थन र भोट माग्नुभएको थियो। उहाँले यसपटकको निर्वाचनमा परिवर्तन, पारदर्शिता र जवाफ देहिताका लागि घन्टी छापामा मतदान गर्न आग्रह गर्नुभयो।
भेटघाटका क्रममा कानुले युवालाई केन्द्रमा राखेर रोजगारी सिर्जना, सीप विकास र अवसरको सुनिश्चितता आफ्नो प्रमुख एजेन्डा भएको उल्लेख गर्नुभयो। शिक्षा क्षेत्रमा गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउँदै सार्वजनिक विद्यालयको सुधार र प्रविधिमैत्री शिक्षाको आवश्यकता औंल्याउनुभयो।
त्यसैगरी स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्ने, सरकारी स्वास्थ्य संस्थालाई प्रभावकारी बनाउने र उपचार खर्च घटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उम्मेदवार कानुले पुराना राजनीतिक अभ्यासले जनतामा निराशा बढाएको भन्दै नयाँ सोच र इमानदार राजनीतिबाट मात्र मुलुकको अवस्था बदल्न सकिने दाबी गर्नुभयो।
स्थानीय मतदाताले पनि आफ्ना समस्या, अपेक्षा र सुझाव राख्दै आगामी दिनमा जनमुखी र जिम्मेवार प्रतिनिधिको आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए।
घरदैलो अभियानलाई निरन्तरता दिँदै कानुले जनताकै घरदैलोबाट सुरु हुने राजनीति नै समावेशी र सुशासनको आधार भएको उल्लेख गर्नुभएको छ।