वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १८ भवानीपुर–इनर्वा निवासी मधेश आन्दोलनका वीर शहिद धर्मराज सिंह राजपुतकी आमा कलावती देवी राजपुतीनले नेकपा एमाले पर्सा क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवलाई विजय तिलक लगाएर जितको आशीर्वाद प्रदान गरेकी छन्।
शुक्रबार बिहान शहिद परिवारसँग भेटघाटका क्रममा उम्मेदवार यादव राजपुत निवास पुगेका थिए। सो अवसरमा शहिद राजपुतकी आमाले उम्मेदवार यादवलाई फूलमाला पहिर्याइ, दोसल्ला ओढाएर मिठाई खुवाउँदै निधारमा टीका लगाएर भावुक हुँदै विजयको शुभकामना दिएकी थिइन्।
भेटघाटका क्रममा शहिदकी आमा कलावती देवीले उम्मेदवार यादवप्रति गहिरो विश्वास व्यक्त गर्दै भनिन्, “धेरै नेता आए, धेरै गए, तर हाम्रो सुख–दुःख साँचो रूपमा बुझ्ने र साटासाट गर्ने नेता प्रदीप यादव मात्र हुनुहुन्छ।”

शुक्रबार बिहानैदेखि वीरगंज महानगरपालिका वडा नं. १८ भवानीपुर र वडा नं. २२ मनियारीमा जनता–दर्शक कार्यक्रममा सहभागी हुँदै आएका यादवले शहिदकी आमासँग लामो समय आत्मीय संवाद गरेका थिए। उनले शहिद धर्मराज सिंहले देखाएको बाटो आफूहरूले कहिल्यै नबिर्सिने प्रतिबद्धता जनाउँदै भने, “म पनि तपाईंको छोरा हुँ। कुनै समस्या आए नडराई सिधै मलाई फोन गर्नुस्।”
यादवले आफू सधैं शहिद परिवारको सुख–दुःखमा साथ रहने र भविष्यमा पनि साथ नछोड्ने वाचा गरे।
शहिद परिवारसँगको भेटपछि उम्मेदवार यादवले शहिद आमाबाट प्राप्त विजय तिलकले आफूलाई थप उत्साहित र जिम्मेवार बनाएको सञ्चारकर्मीहरूलाई बताए। उनले आफू अरूजस्तो आश्वासन बाँड्ने नेता नभई बोलेको कुरा गरेर देखाउने नेता भएको दाबी गर्दै आगामी दिनमा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।