वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १२ श्रीपुरमा पर्सा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार प्रदीप यादवको सम्पर्क कार्यालय स्थापना गरि सञ्चालनमा ल्याइएको छ ।
बिहीबार नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले उक्त कार्यालयको समुद्घाटन गरेका हुन् । त्यसअवसरमा भट्टराईसंगै पर्सा–१ का एमाले उम्मेदवार यादवकोपनि विशेष उपस्थिती थियो ।
सम्पर्क कार्यालयको उद्घाटन गर्दै एमाले उपमहासचिव भट्टराईले फागुन २१ को निर्वाचनपछि फेरि देशमा एमाले नेतृत्वकै सरकार बन्ने र उक्त सरकारमा प्रदीप यादवलाई एमालेले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने बताए । त्यसका कारण पर्सा–१ का एमाले उम्मेदवार यादवलाई अत्याधिक मतका साथ जिताएर पठाउन उनले आग्रह गरे ।
यादव कर्मठ र जनताको माझमा रहने लोकप्रिय नेता भएकाले यस्ता नेतालाई सांसदमा जिताएर संसदमा पठाउनु आवश्यक रहेको भन्दै उनले यादवको प्रशंसापनि गरे । उक्त कार्यक्रममा बोल्दै एमाले उम्मेदवार यादवले संकटमा परेको संविधान जोगाउनकै लागि आँफुले एमालेले रोजेको बताए । संविधान नै नरहे मधेसका मुद्धाहरुपनि नरहने भएकाले आँफुले संविधान र मधेसका मुद्धा जोगाउनका लागि नै एमाले पार्टी रोजेको उनले प्रष्ट पारे ।
वीरगन्जमा केन्द्रिय उपमहासचिव भट्टराई आगमनपछि उनले पर्सामा एमालेभित्रका केहि साथीहरुमा रहेका केहि तीतामीठा कुराहरु समाप्त भएको भन्दै उनले आजको कार्यक्रमले एमाले पर्सामा एकताको सन्देश प्रवाहक पनि गरेको बताए । उनले यसपालिको निर्वाचनमा पर्साका चारै क्षेत्रमा एमाले जित्ने उद्घोष पनि गरे । उनले भने,‘ अहिलेको लडाई संविधान जोगाउने लडाई हो , अहिलेको लडाई राष्ट्र र राष्ट्रियत जोगाउने लडाईपनि हो । त्यसका कारण एमालेलाई जिताउन् पर्छ ।’
एमालेका क्षेत्र नम्बर १ का संयोजक मानदेव हजराको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य प्रभु हजरा,निर्मला देवकोटा, प्रदेशका पूर्वमन्त्री प्रमोद जयसवाल , प्रदेश सभाका पूर्व सदस्य जन्नत अन्सारी,एमाले जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मा, जिल्ला सचिव महेश दास , एमाले नेतृ मुन्नि श्रीवास्तव लगायतकाको सहभागिता थियो ।