बारा । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा आफूलाई ठूला र जिम्मेवार दल भनेर चिनाउने राजनीतिक शक्तिहरू नै निर्वाचन आचारसंहिताको खुला उल्लंघनमा उत्रिएको पाइएको छ । बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार फरमुल्लाह मन्सुरले पार्टीको प्रचार–प्रसार कार्यक्रममा बालबालिकालाई प्रयोग गरेको तस्बिर तथा भिडियो सार्वजनिक भएपछि यस विषयले व्यापक चर्चा पाएको हो ।
सार्वजनिक भएका दृश्यहरूमा बालबालिकालाई नाराबाजी, झण्डा बोक्ने तथा चुनावी कार्यक्रमहरूमा सहभागी गराइएको देखिन्छ । निर्वाचन आचारसंहिता अनुसार बालबालिकालाई कुनै पनि राजनीतिक गतिविधि, जुलुस, सभा वा प्रचार अभियानमा प्रयोग गर्न स्पष्ट रूपमा निषेध गरिएको छ । यस्तो कार्य बालअधिकारको उल्लंघन मात्र नभई कानुनी रूपमा दण्डनीय मानिन्छ । तर उम्मेदवार मन्सुरले सो नियमको बेवास्ता गर्दै प्रत्यक्ष रूपमा बालबालिकालाई प्रचारमा उतारेको आरोप लागेको छ ।
स्थानीय बासिन्दा तथा नागरिक समाजका प्रतिनिधिहरूले ठूला दलबाटै यस्तो गैरजिम्मेवार व्यवहार हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनीहरूका अनुसार राजनीतिक स्वार्थका लागि बालबालिकालाई प्रयोग गर्नु नैतिकता र कानुन दुवैको विपरीत हो । यस घटनापछि सम्बन्धित निकायले तत्काल छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्ने माग समेत उठेको छ ।
उम्मेदवार मन्सुर विगतमा पनि विवादमा मुछिएका व्यक्ति हुन् । २०६९ सालमा यही क्षेत्रबाट निर्वाचित भई श्रम मन्त्री बनेका मन्सुरमाथि मलेसियामा अलपत्र परेका ३५ जना नेपाली नागरिकलाई उद्धार नगरी छोडेको र मेनपावर कम्पनीसँग १० लाख रुपैयाँ घुस लिएको आरोप लागेको थियो । सो घटनाले उनको कार्यकाल नै विवादित बनेको थियो । पुनः अहिले निर्वाचनका बेला आचारसंहिता उल्लंघनको आरोप लाग्नुले उनको छवि थप प्रश्नमा परेको छ ।
निर्वाचन निष्पक्ष, स्वच्छ र कानुनसम्मत बनाउन बनेको आचारसंहिता सबै दल र उम्मेदवारले पालना गर्नुपर्ने साझा दायित्व हो । तर जिम्मेवार पदमा पुगिसकेका व्यक्तिहरूबाटै नियम उल्लंघन हुनु लोकतान्त्रिक मूल्य–मान्यतामाथिको चुनौतीका रूपमा हेरिएको छ । अब निर्वाचन आयोग र सम्बन्धित निकायले यस्ता गतिविधिमाथि कडा कदम चाल्ने कि नचाल्ने भन्ने विषयमा सर्वसाधारणको ध्यान केन्द्रित भएको छ ।