वीरगञ्ज । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१९ इनर्वासिरामा जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनाव प्रचार–प्रसार समिति कार्यालय तथा जनसम्पर्क कार्यालयको उद्घाटनसँगै परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्जु साहको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा जसपा नेपालका नेताहरू घनश्याम गिरि, जगत नारायण महतो, सत्यनारायण साह, हीरालाल कुशवाहा, लोहा यादव, जगदीश साह, महेन्द्र यादव, बृजकिशोर साह, हिरालाल यादव लगायत नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका वक्ताहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै जसपा नेपालको एजेन्डा, मधेशका मुद्दा, सामाजिक न्याय, समावेशी विकास तथा जनअधिकारका विषयमा पार्टीको स्पष्ट धारणा प्रस्तुत गरेका थिए। साथै संगठनलाई थप सशक्त बनाउँदै स्थानीय तहसम्म जनसम्पर्क विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
जसपा नेताहरूका अनुसार स्थानीय तहसम्म संगठन विस्तार र जनसम्पर्कलाई प्रभावकारी बनाउन उद्देश्यका साथ कार्यालय स्थापना गरिएको हो। उद्घाटन कार्यक्रममा देखिएको उत्साहजनक सहभागिताले क्षेत्रमा जसपा नेपालको चुनावी गतिविधि थप सक्रिय बन्दै गएको संकेत दिएको आयोजकहरूको भनाइ छ।