वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवले आफूले विगतमा राम्रो काम गरेको उल्लेख गर्दै अन्य नेताहरूले के–कस्ता काम गरेका छन् भन्ने कुरा जनताले अब सोध्नुपर्ने बेला आएको बताएका छन्।
आफ्ना विपक्षी उम्मेदवारलाई कडा टक्कर दिँदै आएका पूर्वमन्त्रीसमेत रहेका उम्मेदवार यादवले आफूले गरेका कामका आधारमा जनताले फेरि न्याय गर्नेमा आफू विश्वस्त रहेको बताए। आज बिहान वीरगञ्जमा नेकपा एमालेका नेता तथा कार्यकर्तासँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
उनले आफ्नो निर्वाचन क्षेत्रको विकासमा खेलेको भूमिकालाई मतदाताले सराहना गरिरहेको दाबी गरे। सडक, पुल–पुलेसा, धर्मशाला, विवाह मण्डप, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा खानेपानी क्षेत्रमा आफूले उल्लेखनीय काम गरेको र त्यसको जनताले खुलेर प्रशंसा गरिरहेको यादवले बताए।
निर्वाचन आचारसंहिता भित्र रही फागुन ४ गतेदेखि प्रचार–प्रसारका गतिविधि अघि बढाउने तयारीमा रहेको उल्लेख गर्दै उनले यस पटक बाँकी रहेका योजनाहरू पूरा गर्नुका साथै जनतासँग प्रत्यक्ष राय–सल्लाह गरी विकासका कामहरू अघि बढाउने प्रतिबद्धता जनाए। साथै संविधान, लोकतन्त्र र मधेशी जनताको हक–अधिकारको पक्षमा अडिग रहेर प्रतिनिधिसभामा उपस्थित हुने उनले ठोकुवा गरे।
आफू नेता नभई जनताको सेवक भएको उल्लेख गर्दै जनताले काम गर्ने अवसर पुनः प्रदान गर्नेमा आफू आशावादी रहेको यादवले जिकिर गरे।