वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदीप यादव ले मतदाता भेटघाट तथा घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
घरदैलो कार्यक्रमअन्तर्गत उनले वीरगंज महानगरपालिकाका विभिन्न वडामा पुगेर मतदातासँग प्रत्यक्ष भेट गर्दै आफ्ना योजना र प्रतिबद्धता सार्वजनिक गरेका छन् । स्थानीय मतदाताहरूले उत्साहपूर्वक नेकपा एमाले र सूर्य चिन्हमा मतदान गरी पूर्वमन्त्रीसमेत रहेका उम्मेदवार यादवलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अभियानकै क्रममा जगरनाथपुर पुगेका यादवलाई स्थानीयवासीहरूले भव्य स्वागत गरेका थिए । व्यापक जनसहभागितासहितको उक्त कार्यक्रममा पर्सा–१ मा एमालेप्रतिको जनसमर्थन थप सुदृढ बन्दै गएको दाबी गरिएको छ ।
स्थानीय विकासमा आफूले गरेको योगदान स्मरण गर्दै यादवले विपत्को समयमा जनताको साथमा उभिएको उल्लेख गरे । पानीको अभाव हुँदा डिप बोरिङ जडान, सडक निर्माण, कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर सहयोग, तथा विवाह भवन निर्माणजस्ता कामहरू आफ्नो कार्यकालका उपलब्धि भएको उनले बताए ।
वीरगंज–१३ का एक स्थानीयले जिल्लाको समग्र विकासमा निरन्तर योगदान पुर्याएका इमानदार र विकासप्रेमी नेताका रूपमा यादवलाई पुनः निर्वाचित गराउने बताए । “देखिने गरी विकास गर्ने पार्टी भनेकै एमाले हो,” उनले भने ।
घरदैलोका क्रममा यादवले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि तथा रोजगारी प्रवर्द्धनका क्षेत्रमा स्पष्ट योजना अघि सारेका छन् । एमाले नेतृत्वको सरकारले देशभर पूर्वाधार विकास, सडक सञ्जाल विस्तार, शिक्षा तथा स्वास्थ्य संस्थाको सुदृढीकरण र राष्ट्रिय स्वाभिमानको रक्षा गर्दै आएको उल्लेख गर्दै उनले पर्सालाई समृद्धिको केन्द्र बनाउने प्रतिबद्धता जनाए ।
उनले मुलुकले पछिल्लो समय भोगेको अस्थिरता र विकास अवरोध अन्त्य गर्न दृढ नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे । “अब नारा होइन, परिणाम चाहिएको छ । एमालेले मात्र स्थायित्व, विकास र राष्ट्रिय हितको रक्षा गर्न सक्छ,” यादवले भने ।
स्थानीयवासीहरूका अनुसार विगतका उपलब्धि, विकासवादी नीति र राष्ट्रियताप्रतिको स्पष्ट अडानका कारण पर्सा–१ मा एमालेको जित सुनिश्चित हुने विश्वास गरिएको छ ।