पर्सा । रामाकान्त चौरसियाको घरदैलो अभियान दिनप्रतिदिन प्रभावशाली बन्दै गएको छ। रास्ट्रिय स्वतन्त्र पार्टी पर्सा–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामाकान्त चौरसिया पकहाँमैनपुर वडा नम्बर–३ र ४ अन्तर्गत मतदातासँग प्रत्यक्ष भेटघाट, संवाद तथा घरदैलो गर्दै घण्टी छापमा मतदान गर्न मतदाताहरु संग आग्रह गरेका छन्।
स्थानीय टोलटोलमा पुगेर नागरिकका गुनासो, सुझाव र अपेक्षा सुन्दै उनले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलोका क्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिताले पकहाँमैनपुरमा चुनावी माहोल थप उत्साहपूर्ण बनेको देखिएको छ।
वडा नम्बर–३ र ४ का विभिन्न टोलहरूमा पुगेर चौरसियाले जनतासँग प्रत्यक्ष संवाद गर्दै समृद्ध क्षेत्र निर्माणका लागि साझा सहकार्य आवश्यक रहेको धारणा राखे। स्थानीयवासीहरूले आफ्नो क्षेत्रको दीगो विकास, सुशासन र पारदर्शिताका लागि सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै चौरसिया प्रति समर्थन जनाएका छन्।
त्यसैगरी महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले महिला उद्यमशीलता प्रवर्द्धन गर्दै आयआर्जनका कार्यक्रमसँग जोडिने योजनामा विशेष ध्यान दिइने चौरसियाले बताए। उनले सीपमूलक तालिम, सहुलियतपूर्ण ऋण, साना तथा मझौला उद्यम प्रवर्द्धन तथा महिला सहकारी सशक्तीकरणमार्फत महिलालाई आर्थिक रूपमा सबल बनाउने प्रतिबद्धता जनाए। “महिला सशक्तीकरण बिना समृद्ध समाज सम्भव छैन,” उनले भने, “घरपरिवारदेखि समाज र राष्ट्र निर्माणसम्म महिलाको भूमिका महत्वपूर्ण छ, त्यसैले अवसर र पहुँच सुनिश्चित गरिनेछ।”
चौरसियाले युवा स्वरोजगार, कृषि आधुनिकीकरण, साना उद्योग प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणमा विशेष पहल गरिने बताए। आगामी निर्वाचनमा मतदाताले विकास र स्थायित्वको पक्षमा मतदान गर्ने विश्वास उनले व्यक्त गरेका छन्।