काठमाडौँ । स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. अनुज भट्टचनले अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा देखिएको अवरोध, खरिद प्रक्रियाको लामो कानुनी प्रक्रिया तथा विश्वव्यापी परिस्थितिका कारण रेबिजविरुद्धको खोप व्यवस्थापनमा चुनौती थपिएको जानकारी दिनुभएको छ ।
उहाँले आइतबार भारतबाट विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहयोगमा चार हजार पाँच सय भायल एन्टिरेबिज खोप नेपाल आइपुग्ने निश्चित भएको जानकारी पनि दिनुभयो ।
डा. भट्टचनले हाल १० हजार भायल रेबिजविरुद्धको खोप मौज्दात रहेको र आगामी १६ गते नियमित खरिद प्रक्रिया अन्तर्गत टेन्डर खोलेर त्यसपछि थप खोप आपूर्ति हुने बताउनुभयो ।
“खोप खरिद गर्दा सार्वजनिक खरिदसम्बन्धी सबै कानुनी प्रक्रिया पालना गर्नुपर्ने हुन्छ,” महानिर्देशक डा. भट्टचनले भन्नुभयो, “अन्तर्राष्ट्रिय परिस्थितिले पनि आपूर्ति प्रणाली प्रभावित भएको छ । इरान क्षेत्रमा भएको युद्धले समेत ढुवानी र आपूर्तिमा अप्रत्याशित असर पारेको छ ।”
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले नागरिकलाई उपचारबाट वञ्चित हुन नदिन अस्पतालले उपलब्ध खोपको प्रभावकारी व्यवस्थापन गर्दै आएको बताउनुभयो । उहाँका अनुसार काठमाडौँ महानगरपालिकाले समेत आवश्यक खोप सहयोग गरेको छ । “विश्व स्वास्थ्य सङ्गठनले आपत्कालीन सहयोगस्वरूप खोप उपलब्ध गराएको छ । आइतबार थप खोप आइपुग्दै छ,” बाँस्तोलाले भन्नुभयो, “नियमित खरिद प्रक्रिया केही ढिलो भएकाले अहिलेको अवस्था देखिएको हो ।”
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले रेबिजविरुद्धको खोपको पूर्ण अभाव नरहेको स्पष्ट पार्नुभयो । उहाँले केही स्थानमा वितरण व्यवस्थापन चुनौतीपूर्ण भए पनि खोपसेवा नरोकिएको स्पष्ट पार्नुभयो । अधिकारीले उपलब्ध मौज्दातलाई आवश्यकता अनुसार व्यवस्थापन गरिरहेको जानकारी गराउनुभयो । डा. भट्टचनले स्थानीय तहले कुकुर तथा अन्य जनावरको व्यवस्थापनमा पनि प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो । सङ्घीय शासनप्रणाली अनुसार सबै तहका सरकारले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले सार्वजनिक खरिद ऐन अनुसार औषधी तथा खोप खरिदमा निश्चित प्रक्रिया पूरा गर्नुपर्ने भएकाले आकस्मिक रूपमा ठुलो परिमाणमा खरिद गर्न कठिन हुने जानकारी गराउनुभयो ।
अन्तर्राष्ट्रिय बजारमै रेबिज खोपको आपूर्ति प्रभावित भएको भन्दै पश्चिम एसियामा विकसित युद्धजन्य परिस्थितिले हवाई ढुवानी र आपूर्ति शृङ्खलामा असर पु¥याएको उहाँको भनाइ छ । उहाँले बर्खायामसँगै कुकुर तथा अन्य जनावरको टोकाइका घटना बढ्ने भएकाले खोपको माग पनि उल्लेख्य रूपमा बढेको जानकारी गराउनुभयो । देश सङ्घीय संरचनामा गइसकेपछि खोपको वितरण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहबिच थप समन्वय आवश्यक पर्ने भएकाले कतिपय स्थानमा वितरण असन्तुलित देखिएको हो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार केही जिल्लामा खोप चुनौती देखिए पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट प्रदान हुँदै आएको सेवा नियमित सञ्चालन भइरहेको छ । हाल रहेको मौज्दात र सुनिश्चित आपूर्तिका आधारमा टेकु अस्पतालमा करिब ३५ दिनभन्दा बढी समयसम्म सेवा सञ्चालन गर्न सकिने छ ।
भट्टचनका अनुसार रेबिज लक्षण देखिएपछि शतप्रतिशत घातक हुने रोग भए पनि समयमै खोप र उपचार पाएमा यसबाट जोगिन सकिन्छ । गोरखापत्र अनलाइन