वीरगञ्ज । नेपालको चुरेको फेदी, पहाड, जङ्गल लगायतका स्थानहरूमा लुकाएर उत्पादित गरिने लागुऔषध गाँजा भारतसम्म सजिलै रूपमा तस्करी हुँदै आएको खुल्न आएको छ।
नेपाल र भारत गरी दुवै तर्फका तस्कर समूहहरूले नेपाली सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारेर लागुऔषध गाँजालाई नेपालको मुख्य प्रवेशद्वारबाटै नै सजिलै तरिकाले भारततर्फ तस्करी गर्दै आएको पटक पटक सार्वजनिक हुँदै आएको छ।
गत असार १० गते भारतीय सुरक्षाकर्मीहरुले नेपालबाट ट्रकको कन्टेनरमा भित्र्याइएको ठुलो परिमाणमा लागु औषध गाँजालाई सीमावर्ती भारतीय सहर रक्सौलमा बरामद गरेका थिए।
वीरगन्जको आईसीपीबाट लागुऔषध गाँजा लोड गरिएको बि आर ०१ जी एन ४३५३ भारतीय नम्बर प्लेटको ट्रकको कन्टेनरबाट भारतीय सुरक्षाकर्मीहरूले रक्सौलको हरैया थाना क्षेत्रबाट त्यसलाई नियन्त्रणमा लिएका थिए।
वीरगन्जको आईसिपीबाट निस्केको उक्त ट्रक भारततर्फ पुगेर सडक छेउमा रोकेर राखिएको अवस्थामा त्यसलाई भारतीय सुरक्षाकर्मीहरूले चेकजाँच गरेका थिए। चेकजाँचको क्रममा भारतीय सुरक्षाकर्मीहरूले त्यसबाट तीन क्विन्टल ३९ किलो लागु औषध गाँजा बरामद गरेको बताएका छन्।
भारत बिहार रक्सौल अनुमण्डल पुलिस पदाधिकारी मनिष कुमारले नेपालबाट ठुलो परिमाणमा लागु औषध गाँजा भित्रिएको बारे सूचना प्राप्त भएको बताए। रक्सौलमा भित्रिएको गाँजाको खोजबिन गर्दा ट्रकको कन्टेनरबाट त्यसलाई नियन्त्रणमा लिन सफल भएको जानकारी गराएका थिए।
नियन्त्रणमा लिइएको ट्रकको कन्टेनरमा बनाइएको बक्सा भित्र लुकाएर राखिएको अवस्थामा २२ पोका गाँजालाई बरामद गरिएको उनले बताए।
गाँजा बरामद गरिएको ट्रकको चालक मनोज भगतबाट सोधपुछ गर्दा गाँजालाई नेपालबाट ल्याइएको जवाफ दिएको उनले बताए।
नेपालबाट ल्याइएको गाँजालाई भारतको कुन स्थानसम्म पुर्याउने हो त्यसको बारेमा जानकारी ती चालकले नदिएको उनले बताए।
ट्रकको कन्टेनरबाट बरामद गरिएको गाँजालाई अन्तर्राष्ट्रिय तस्करहरूको संलग्नतामा नेपालबाट भारत भित्र्याइएको प्रारम्भीक अनुसन्धानबाट खुलेको उनले बताए।
गत वैशाख २७ नेपालबाट भारतीय नम्बर प्लेटको कारमा राखेर भारतमा भित्र्याउँदै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बलले त्यसलाई नियन्त्रणमा लिएको थियो।
वीरगन्ज –रक्सौल जोडने मितेरी पुलमा रक्सौल तर्फ एसएसपीले कारमा राखिएको २२ किलो लागु औषध गाँजा सहित पुर्वी चम्पारणको कल्याणपुर थाना अन्तर्गत पर्ने बरहरका निवासी मंटु कुमार रायलाई नियन्त्रणमा लिएको एसएसबीका इस्पेक्टर कोमल कुमारले बताएका छन्।
पक्राउ परेका राय कार चालक रहेको र चारमा सवार रहेका अन्य तीन जना भाग्न सफल भएको कोमलले बताए। कार चालक रायसँग गाँजाको बारेमा सोध्दा गाँजालाई हेटौँडाबाट लिएर आइएको खुल्न आएको उनले बताए।
त्यसैगरि गत चैत २१ गते भारतीय सीमा सुरक्षा बलले वीरगन्ज –रक्सौल जोडने रक्सौल तर्फको मितेरी पुलबाट कारमा लुकाइएको लागु औषध गाँजा सहित एक जना भारतीयलाई नियन्त्रणमा लिएको थियो।
नेपालबाट भारत तर्फ जाँदै गरेको बीआर ०३ पी ए ४४७७ नम्बरको भारतीय कारबाट मितेरी पुलमा चेकजाँचको क्रममा ९९ किलो गाँजा बरामद एसएसबीले गरेका थिए।
कारबाट गाँजा बरामद भएपछि भारत बिहारको रामगढवा प्रखन्ड अन्तर्गत पर्ने मझरिया गाउँ निवासी गाडी चालक विवेक कुमारलाई नियन्त्रणमा लिएको एसएसबीका ४७ औँ बटालियन कमान्डेट सञ्जय पाँडेले बताएका थिए।
नेपालमा उत्पादित लागुऔषध गाँजालाई तस्कर समूहहरूले नेपालको मुख्य प्रवेशद्वारबाट भारत पुर्याउँदा भारतीय सुरक्षाकर्मीहरूले सीमावर्ती सहर रक्सौलमा बरामद गर्नु यी उदाहरण मात्रै हो।
वीरगन्ज नाका हुँदै भारत तस्करी गरिने लागुऔषध गाँजा अधिकांश मात्रामा मकवानपुर, चितवन र धादिङ र बाराको उत्तरी भागमा उत्पादन गरिँदै आइएको छ।
यी जिल्लाहरूमा उत्पादित लागुऔषध गाँजालाई वीरगन्जसम्म ल्याउँदै ठाउँ ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकपोस्टहरू पर्ने गरेका छन्।
मकवानपुरको रातोमाटो, बाराको अमलेखगन्ज,पथलैया, पर्साको परवानीपुर लगायतको स्थानहरूमा नेपाल प्रहरीले जहिले पनि चेकजाँच गरेको देखिन्छ।
साधरणतया मानिसहरू हिँडडुल गर्दा ठाउँ ठाउँमा भेटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँचको बहानामा हैरान बनाउने कार्य गर्दै आएका देखिन्छ। तर क्विन्टलका क्विन्टल गाँजा भारत तस्करी गर्दा समेत त्यसलाई नियन्त्रण गर्न नसक्नु नेपाली सुरक्षाकर्मीहरूको कार्यशैली माथि नै सर्वसाधारण प्रश्न खडा गरेका छन्।
जिल्ला प्रहरी कार्यालय वीरगन्ज पर्साका प्रमुख सुदिप राज पाठकले प्रहरीले थाहा पाए पछि भारत तस्करी गर्ने गाँजालाई वीरगन्जमै नियन्त्रणमा लिने गरेको दाबी गरेका छन्।
कतिपय घटनामा हामीलाई जानकारी नभए पछि तस्करहरूले लुकाएर त्यसलाई भारत तर्फ पुर्याउने गरेको हुन सकिने उनले बताए।
पर्सा प्रहरीले भारत पुर्याउने उदेश्यले पर्सामा भित्र्याइएको लगभग असार महिनामै तीन क्विन्टल गाँजालाई मानिस सहित नियन्त्रणमा लिएको दाबी प्रहरी उपरीक्षक पाठकले गरेका छन्।
असार १० गते भारतीय सुरक्षाकर्मीहरूले रक्सौलमा भारतीय नम्बर प्लेटको ट्रक कन्टेनरबाट बरामद गरेको गाँजा आईसीपीबाट कसरी गएको उनले प्रश्न समेत गरे।
आईसीपीबाट ओहोर दोहोर गर्ने ढुवानीका साधनहरूलाई कडा सुरक्षा बिच चेकजाँच गर्ने गरिएको र त्यसलाई एक्सरे समेत गर्ने गरिदा गाँजा सहितको ट्रक आईसिपीमै किन नसमातिएको उनले बताए।
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा १३ नम्बरका गण वीरगन्ज पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन जोशीले नेपालबाट दैनिक आईसिपीको बाटो हुँदै तीन सय भन्दा बढी भारतीय नम्बर प्लेटका ट्रकहरू जाने गरेको बताए।
सयौँ सङ्ख्यामा भारत जाने गाडीहरू मध्ये कुनै कुनै ट्रकमा भित्रिनै बक्सा बनाएर त्यसमा गाँजा लुकाएर लैजाने गर्दा जानकारी अभावमा त्यसलाई नियन्त्रणमा लिन नसकिने गरेको उनले बताए।
आफूहरूले थाहा पाएपछि केही दिन पहिला मात्रै ठोरीबाट ठुलो परिमाणमा मानिस सहित गाँजालाई नियन्त्रणमा लिएको जोशीले दाबी गरे।
दुई देशका तस्करहरू मिलेर गरिने संगठित सीमा अपराध र लागु औषधको तस्करी लगायतको तस्करीको कार्यहरुलाई रोक्न हामी दिन रात खटेको जोशीले बताए। उपेन्द्र यादव / नागरिक दैनिक