जनकपुर । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले एमालेका पूर्वसांसद लक्ष्मी महतो (कोइरी)लाई ५ वर्षको कैद सजाय सुनाएको छ । महोत्तरी जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले कोइरीसहित ६ जनालाई ५ वर्षको कैद सजाय सुनाएको हो ।
कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार गरेको फैसलाअनुसार जिल्ला अदालतबाट सफाइ पाएका अभियुक्त अभिषेक शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे, लक्ष्मी महतो र पवन कापरलाई जनही पाँच वर्ष कैद सजाय निर्धारण गरिएको छ ।
यसैगरी, प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा दोषी ठहर गर्दै मुलुकी ऐन, ज्यान सम्बन्धी महलको दफा १३(३) बमोजिम जन्मकैद हुने फैसलालाई सदर गरेको छ ।
यसअघि महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते उनीहरूलाई दिएको जन्मकैदको फैसला उच्च अदालतले सदर गरेको छ । फैसलामा अनुसन्धानका क्रममा अभियुक्तहरूको बयान, घटनास्थलका विवरण, फोटो तथा अन्य प्रमाणबाट प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरले थमन विकमाथि आक्रमण गरेको पुष्टि भएको उल्लेख छ । साथै, अन्य पाँच अभियुक्तले हत्या गर्न सहयोग पुर्याएको पुष्टि हुने पर्याप्त प्रमाण रहेको अदालतको निष्कर्ष छ ।

