ढल्केबर । मधेश प्रदेशमा असारको तेस्रो सातासम्म कुल धान खेतीयोग्य जमिनमध्ये १४.७३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय मधेश प्रदेशले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असार १९ गतेसम्म प्रदेशका आठवटै जिल्लामा कुल तीन लाख ८५ हजार ९३३ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये ५९ हजार ८९५.०६ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको हो ।
तथ्याङ्कअनुसार सबैभन्दा बढी रोपाइँ सिरहामा र सबैभन्दा कम सर्लाहीमा भएको छ । सिरहामा ५४ हजार हेक्टरमध्ये २५ प्रतिशत अर्थात् १३ हजार ५०० हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।
सप्तरीमा ६८ हजार हेक्टरमध्ये २४ प्रतिशत अर्थात् १६ हजार ३२० हेक्टरमा रोपाइँ सकिएको छ । धनुषामा ४३ हजार ७०० हेक्टरमध्ये १५ प्रतिशत अर्थात् ६ हजार ५५५ हेक्टर क्षेत्रमा धान रोपिएको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी बारामा ४५ हजार १०० हेक्टरमध्ये १३ प्रतिशत अर्थात् ५ हजार ८६३ हेक्टर, महोत्तरीमा ४० हजार हेक्टरमध्ये १२.३७ प्रतिशत अर्थात् ४ हजार ९४८ हेक्टर तथा पर्सामा ५३ हजार ९३८ हेक्टरमध्ये १२ प्रतिशत अर्थात् ६ हजार ४७२.५६ हेक्टर क्षेत्रमा धान रोपाइँ भएको छ ।
रौतहटमा ३८ हजार ५०० हेक्टरमध्ये ८.५ प्रतिशत अर्थात् ३ हजार २७२.५६ हेक्टर क्षेत्रमा रोपाइँ भएको छ । सबैभन्दा कम सर्लाहीमा ४२ हजार ६९५ हेक्टरमध्ये आठ प्रतिशत अर्थात् ३ हजार ४१५ हेक्टर क्षेत्रमा मात्र धान रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार मधेस प्रदेशमा कुल ५ लाख ५२ हजार ७४५.५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये ३ लाख ८५ हजार ९३३ हेक्टर क्षेत्रमा प्रत्येक वर्ष धान खेती हुने गरेको छ ।
निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले मनसुन सक्रिय भएसँगै धान रोपाइँले गति लिन थालेको बताउनुभयो । उहाँका अनुसार आगामी केही दिन नियमित वर्षा भए रोपाइँले थप गति लिने अपेक्षा गरिएको छ । पर्याप्त वर्षा भएका जिल्लामा किसान खेत तयारीसँगै रोपाइँमा व्यस्त छन् भने वर्षा कम भएका क्षेत्रमा किसान अझै आकाशे पानीको प्रतीक्षामा छन् । गोरखापत्र अनलाइन