बर्दिबास । महोत्तरीको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको बर्दिबास नगरपालिकालाई शनिबार एक विशेष समारोहका बिच पूर्ण साक्षर नगरपालिका घोषणा गरिएको छ ।
नेपाल सरकारले निर्धारण गरेको सूचकअनुसार १५ देखि ६० वर्ष उमेर समूहका कम्तीमा ९५ प्रतिशत नागरिक सामान्य लेखपढ गर्न सक्षम भएमा स्थानीय तहलाई पूर्ण साक्षर घोषणा गर्न सकिने व्यवस्था छ । सोही मापदण्ड पूरा गरेपछि बर्दिबास नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विशेष कार्यक्रम आयोजना गरी बाजागाजासहित नगरलाई पूर्ण साक्षर घोषणा गरेको हो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख रेवती पराजुलीका अनुसार बर्दिबासमा १५ देखि ६० वर्ष उमेर समूहका ४६ हजार ५२६ जना नागरिकमध्ये ४५ हजार ३३२ जना अर्थात् ९७.४१ प्रतिशतले साक्षरताको मापदण्ड पूरा गरेका छन् ।
घोषणा समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं मधेश प्रदेशकी श्रम तथा यातायात मन्त्री शारदादेवी थापाले डिजिटल युगमा नगरको समृद्धि, सुशासन र शैक्षिक रूपान्तरणका लागि व्यवस्थित तथ्याङ्क, प्रभावकारी प्रणाली तथा असल अभ्यासको विकास आवश्यक रहेको बताउनुभयो ।
उहाँले राजनीतिक नेतृत्व स्थायी नहुने भए पनि पछिल्लो चार वर्षमा बर्दीबास नगरपालिकाले शिक्षा, स्वास्थ्य, श्रमको सम्मान तथा प्रणालीगत सुधारका क्षेत्रमा गरेका अभ्यास प्रेरणादायी र अनुकरणीय रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नगरप्रमुख प्रह्लाद क्षेत्रीले बर्दिबासलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउँदै सुशासनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार नगरपालिकाले १० वर्षे शिक्षा नीति कार्यान्वयन, शैक्षिक विकृति तथा तनाव न्यूनीकरण र सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत सेवा प्रवाहलाई आधुनिक बनाउने अभियान अघि बढाएको छ ।
“नगरपालिकाको भवनमै बसेर बर्दिबासका सम्पूर्ण गतिविधि अनुगमन गर्न सकिने गरी प्राविधिक व्यवस्थापन गरिँदै छ,” नगरप्रमुख क्षेत्रीले भन्नुभयो, “यसले नगरपालिकाको सुशासनमा आमूल परिवर्तन ल्याउने हाम्रो विश्वास छ ।”
जिल्ला शिक्षा समन्वय एकाइ महोत्तरीका प्रमुख निर्मल घिमिरेले १५ स्थानीय तह रहेको महोत्तरीमा बर्दिबाससहित पूर्ण साक्षर घोषणा हुने नगरपालिकाको सङ्ख्या पाँच पुगेको जानकारी दिनुभयो । उहाँले बाँकी स्थानीय तहहरू पनि साक्षर घोषणाको तयारीमा रहेको बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले पूर्ण साक्षर घोषणाले बर्दिबास सभ्य, शिक्षित र अनुशासित समाज निर्माणतर्फ अघि बढेको सन्देश दिएको धारणा व्यक्त गर्नुभयो । गोरखापत्र अनलाइन