काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरुद्ध हुने जोखिम बढिरहेका बेला नेपाली सेनाले सम्भावित विपत् प्रतिकार्यका लागि तीन चरणको तयारी पूरा गरेको छ ।
खोज, उद्धार, राहत वितरण तथा पूर्वाधार पुनस्र्थापनालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, हवाई साधन र बेलिब्रिज तथा मेडिकल टिम तयारी अवस्थामा राखिएको छ ।
सैनिक प्रवक्ता राजाराम बस्नेतले विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउन पहिलो चरणमा पूर्वअभ्यास सम्पन्न गर्नुका साथै सम्भावित जोखिमयुक्त क्षेत्रको पहिचान गरिएको बताउनुभयो । देशभर रहेका सैनिक युनिटलाई स्थानीय तहसम्म तयारी अवस्थामा राखिएको जानकारी दिँदै विपत्को सूचना प्राप्त हुनासाथ तत्काल परिचालन गर्ने गरी पूर्वसतर्कता अपनाइएको उहाँले जानकारी दिनुभयो ।
त्यसै गरी दोस्रो चरण अन्तर्गत पृतना तहसम्मका निकायमा खोज, उद्धार तथा पुनस्र्थापनाका लागि आवश्यक जनशक्ति, उद्धार सामग्री, उपकरण तथा पुनस्र्थापनासम्बन्धी सामग्री तयारी अवस्थामा राखिएको छ । सम्भावित विपत्का कारण सडक सञ्जाल अवरुद्ध भएमा तत्काल सञ्चालनमा ल्याउन धादिङको गजुरी, चितवनको भरतपुर र बारामा बेलिब्रिज तयारी अवस्थामा राखिएको छ । प्रभावकारी उपचारका लागि देशभरका सैनिक फिल्ड अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ ।
त्यसै गरी दुर्गम तथा सडक सम्पर्कविच्छेद हुन सक्ने क्षेत्रमा तत्काल उद्धार, राहत सामग्री ढुवानी र घाइतेको हवाई उद्धारका लागि काठमाडौँ, इटहरी र सुर्खेतमा हवाई साधन तथा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा हेलिकोप्टर चौबिसै घण्टा तयारी अवस्थामा राखिएको छ ।
तेस्रो चरण अन्तर्गत प्रतिकार्य तथा पृष्ठपोषण (पुनस्र्थापना तथा राहत) का लागि स्थानीय प्रशासन, जिल्ला विपत् व्यवस्थापन समिति तथा जिल्ला सुरक्षा समितिसँग समन्वय गरी सबै सैनिक युनिटलाई चौबिसै घण्टा परिचालन गर्न सकिने गरी तयारी पूरा गरिएको छ । आवश्यक परे देशका अन्य क्षेत्रमा रहेका सैनिक स्रोतसाधनसमेत प्रभावित क्षेत्रमा तत्काल परिचालन गरिने प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । यस वर्ष पनि मौसमविद्ले मनसुन अवधिभर केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना औँल्याएका छन् । यसलाई ध्यानमा राख्दै सरकारले विपत् प्रतिकार्यलाई उच्च प्राथमिकतामा राखेको छ । यस वर्षको मनसुन अवधिमा देशभर ५१ हजार ८६८ घरधुरीका दुई लाख २६ हजार ६६१ जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ । प्रभावितमध्ये ५१.१० प्रतिशत महिला र ४८.९० प्रतिशत पुरुष रहने आकलन गरिएको छ ।
खोज तथा उद्धारका लागि नेपाली सेनाका सात हजार ५२४, नेपाल प्रहरीका १० हजार ५८५ तथा सशस्त्र प्रहरी बल नेपालका आठ हजार ११० गरी कुल २६ हजार २१९ प्रशिक्षित सुरक्षाकर्मीलाई चौबिसै घण्टा परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । मनसुनजन्य विपत्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ कार्यान्वयन गर्दै एकीकृत विपत् व्यवस्थापन संयन्त्रलाई उच्च तयारीमा राखेको जनाइएको छ । गोरखापत्र अनलाइन