काठमाडौँ । नेपालको रेलवेक्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई) ले रुचि देखाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र युएईका वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जियोडीबिच शुक्रबार भएको भेटमा यस्तो युएईका मन्त्रीले यस्तो उल्लेख गर्नुभएको हो ।
सो क्रममा युएईका मन्त्री डा. थानीले नेपालको रेलवेक्षेत्रमा निजी क्षेत्रमार्फत लगानी गर्ने इच्छा व्यक्त गर्दै त्यसका लागि आवश्यक कानुनी तथा व्यावहारिक वातावरण निर्माण गरिनुपर्ने धारणा राख्नुभएको थियो ।
भेटमा उद्योगमन्त्री गौरीकुमारी यादवले नेपाल–युएई व्यापार मञ्चलाई थप विस्तार र सुदृढ बनाउन प्रस्ताव राख्नुभएको थियो । युएई पक्षले उक्त प्रस्तावलाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी दिनमा यस विषयमा थप ठोस छलफल अघि बढाउने प्रतिबद्धता जनाएको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्री यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडान सञ्चालनका लागि देखाएको पहलप्रति युएई सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
उच्चस्तरीय भेटवार्ताले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न तथा नेपाल–युएईबिचको व्यापारिक र आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास दुवै पक्षले व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।
भेटमा युएईका मन्त्री डा. थानीले नेपालको नयाँ सरकारप्रति विश्वास व्यक्त गर्दै युएई नेपालका विभिन्न औद्योगिक क्षेत्रमा लगानी गर्न पूर्ण रूपमा तयार रहेको बताउनुभयो । उहाँले लगानीमैत्री वातावरण निर्माण गर्दै सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक सहजीकरण गरिदिन उद्योग मन्त्री यादवसमक्ष आग्रह गर्नुभयो ।
युएईले विशेष गरी नेपालको कृषिक्षेत्रमा लगानी गर्न उच्च चासो देखाएको मन्त्रालयले जनाएको छ । मन्त्री डा. थानीले कृषि परियोजनामा लगानीका लागि आवश्यक सहजीकरण गर्न अनुरोध गर्नुभएको थियो ।
प्रतिनिधिमण्डलले नेपालको सूचना प्रविधि (आइटी) क्षेत्रमा पनि उल्लेखनीय सम्भावना रहेको औँल्याउँदै नेपालमा हरित डेटा सेन्टर स्थापना गर्ने योजना रहेकाले त्यसका लागि आवश्यक लगानी गर्न युएई सरकार तयार रहेको मन्त्रालयले जनाएको छ ।
छलफलमा नेपालमा उत्पादन हुने फलफूल तथा तरकारीलगायत कृषि उपजको युएईमा निर्यात विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो । निर्यातलाई सहज बनाउन खाद्य गुणस्तर परीक्षण, मापदण्ड निर्धारण तथा प्रमाणीकरणका क्षेत्रमा आवश्यक लगानी र प्राविधिक सहयोग उपलब्ध गराउन युएई पक्ष सकारात्मक रहेको जनाइएको छ ।