पर्सा । वीरगन्जमहानगरपालिकाको मुख्य सडक क्षेत्रमा दोस्रो चरणअन्तर्गत भइरहेको सडक विस्तार अभियान बजार क्षेत्रमा प्रवेशसँगै थप जटिल बनेको छ। मुख्य सडक किनारमा रहेका बहुतले भवन हटाउन कठिनाइ हुँदा सडक विस्तारको काम सुस्त गतिमा अघि बढिरहेको छ।
सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर तथा वीरगन्जका लागि तोकिएका फोकल पर्सन दुर्गा प्रसादका अनुसार आइतबार विर्ता मन्दिरबाट करिब एक सय मिटर उत्तरतर्फ पुग्दानारायणी सेन्ट्रल अस्पतालको चारतले भवनका कारण काम प्रभावित भएको हो।
उनकाअनुसार भवनको अगाडिको सानो भाग मात्र सडक सीमाभित्र परे पनि त्यसलाई भत्काउने क्रममा अस्पताल परिसरमा पार्किङ गरिएको एउटा मोटरसाइकलमा क्षति पुगेपछि केही समय काम रोकिएको थियो।
अस्पताल व्यवस्थापनले हटाउनुपर्ने संरचना रातिको समयमा हटाउने अनुमति मागेकाले आइतबार उक्त भवनमा थप डोजर नचलाइएको प्रसादले बताए।
उनकाअनुसार शनिबार वीरगन्ज उद्योग वाणिज्य संघको भवन हटाउने क्रममा पनि यस्तै समस्या आएको थियो। विर्ताबाट उत्तरतर्फ मुख्य व्यापारिक क्षेत्र सुरु हुने भएकाले सडक किनारमा बहुतले भवनको संख्या बढी रहेको र त्यसले सडक विस्तार अभियानलाई थप चुनौतीपूर्ण बनाएको उनले बताए। एउटा अग्लो भवन हटाउन तीन दिनसम्म लागेको उनको भनाइ छ।
हाल सडक विस्तारका लागि आधा दर्जन डोजर परिचालन गरिएको छ। भवन भत्किएपछि सडकमा थुप्रिएको भग्नावशेषका कारण मुख्य नाला र फुटपाथ अवरुद्ध भएकाले तिनको सरसफाइका लागि थप तीनदेखि चारवटा उपकरणसमेत परिचालन गरिएको प्रसादले जानकारी दिए।
उनका अनुसार धेरै स्थानमा खानेपानीका पाइप फुटेका छन् भने नाला थुनिएपछि वर्षाको पानी जम्ने समस्या देखिएको छ। गहवामाईको रथयात्रा नजिकिएकाले पानी जम्दा सरसफाइ तथा स्वास्थ्य सम्बन्धी समस्या उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै पानी निकास खुलाउने कामलाई पनि सँगसँगै अघि बढाइएको उनले बताए।
सडक विभागले गत वैशाख ६ र ७ मा पहिलो चरणमा मुख्य सडक क्षेत्रमा करिब १२ सय घर तथा भवनमा डोजर चलाएको थियो। त्यसबेला अधिकांश संरचनाको अगाडिको भाग हटाइएको थियो भने सडक सीमाभित्र परेका संरचना २५ दिनभित्र स्वयं हटाउन सम्बन्धितलाई आग्रह गरिएकोथियो। तर तोकिएको समयसीमा सकिँदासमेत धेरै संरचना यथावत् रहेपछि विभागले गत शुक्रबारदेखि दोस्रो चरणको सडक विस्तार अभियान सुरु गरेको हो। शंकर आचार्य / कान्तिपुर