काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्गको उद्घाटन साउन ११ गते हुने भएको छ । निर्माण सम्पन्न भएसँगै सञ्चालनको अन्तिम चरणमा रहेको सो सुरुङमार्गको उद्घाट्न साउन ११ गते गर्ने मिति तय भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाका अधिकारीहरुले बताउनुभएको छ ।
पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले सुरुङमार्गको सम्पूर्ण निर्माण सम्पन्न भइ उद्घाटन र सञ्चालनको तयारी भइरहेको बताउनुभयो । उहाँले साउन ११ गते उद्घाटन गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो ।
उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ । उद्घाटन के कसरी गर्ने, कोबाट उद्घाटन गराउनेबारे मन्त्रालय छलफल गरिरहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री वालेन्द्र शाहबाट नै उद्घाटन गराउने गरी आवश्यक तयारी र छलफल भइरहेको उहाँको भनाइ छ ।
ट्रायल ओपनिङ पिरियड
आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले उद्घाटन भएको दिनदेखि नै सुरुङमार्गबाट सबै सवारीसाधन सञ्चालनमा आउन नसक्ने बताउँदै उद्घाटनको तीन महिनासम्म सुरुङमार्गको परीक्षणकाल सञ्चालन (ट्रायल ओपनिङ पिरियड) हुने जानकारी दिनुभयो ।
उहाँले उद्घाटन भएपछि केही दिनसम्म एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधनलाई मात्र सुरुङमार्गबाट आवत—जावत गर्न दिइ परीक्षणकाल सञ्चालन गर्ने जाकारी दिनुभयो ।
परीक्षणकालमा कुनै समस्या नआएमा चौथो महिनादेखि सवारीसाधनका लागि पूर्णरुपमा सुरुङमार्ग सञ्चालनमा आउने उहाँले स्पष्ट पार्नुभयो । परीक्षणकालमा ओहोरदोहोर गर्ने सवारीसाधनबाट सडक शुल्क उठाउने वा नउठाउने विषयमा अहिले टुङ्गो नलागेको उहाँले जानकारी दिनुभयो ।
सुरुङमार्ग निर्माण आयोजनाका आयोजना उपनिर्देशक पन्थीले निर्माणको ठेक्का पाएका जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनालाई सुरुङमार्ग हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो । निर्माण कम्पनीले हस्तान्तरण गरिसकेपछि अब सुरुङमार्गको सम्पूर्ण जिम्मेवारी आयोजनाको काँधमा आएको उहाँको भनाइ छ ।
आयोजनाको काम सम्झौताभन्दा झण्डै दोब्बर समयमा सम्पन्न भएको छ । सम्झौताअनुसार कुल ४२ महिनामा आयोजनाको सम्पूर्ण काम सम्पन्न हुनुपर्नेमा निर्माण सुरु भएको ७९ महिनामा आयोजनाको काम सम्पन्न भएको हो । उहाँका अनुसार आयोजना सम्पन्न गर्न कुल २५ अर्ब रुपियाँ खर्च भएको छ । निर्माणमा १७ अर्ब, डलरको भाउ वढ्दा तथा निर्माण सामग्रीको मूल्यवृद्धि हुँदा दुई अर्ब र जग्गा मुआब्जामा ६ अर्ब रुपियाँ खर्च भएको पन्थीले बताउनुभयो ।
१९ अर्ब जापान सरकारको सहुलियतपूर्ण ऋणको रकम हो । जग्गा मुआब्जाको सम्पूर्ण रकम नेपाल सरकारको हो । यो आयोजनाको लागि कुल ४८० रोपनी जग्गा अधिग्रहण गर्नुपरेको उहाँले जानकारी दिनुभयो ।
यस आयोजनाअन्तर्गत मुख्य सुरुङमार्ग २.६८ किलोमिटर (२६८८ मिटर) लामो छ भने आपतकालीन उद्धारका लागि २.५५ किलोमिटरको छुट्टै सुरुङ निर्माण गरिएको छ । सवारी साधनको प्रकार हेरेर ६० देखि ६ सय रुपियाँसम्म शुल्क तिर्नेपर्ने निर्णय यसअघि नै मन्त्रीपरिषद् बैठकले गरिसकेको छ ।