काठमाडौं । केन्द्रमा उदय भएको नयाँ शक्ति रास्वपाका कारण रक्षात्मक बनेका दुई कम्युनिस्ट दलहरू नेकपा एमाले र नेकपा २५ महिनापछि पुनः प्रदेश सरकारमार्फत सत्ता सहयात्रामा फर्कने भएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ललितपुरमा भएको झन्डै तीन घण्टा लामो सघन वार्तापछि प्रदेशहरूमा नयाँ वाम गठबन्धन बन्ने निश्चित भएको हो। नेपाली कांग्रेस र एमालेबीचको गठबन्धन टुटेपछि यी दुई कम्युनिस्ट घटकहरू पुनः नजिकिएका हुन्। नेकपा र एमाले दुवै कांग्रेससहितको तीन दलीय सहकार्यका पक्षमा रहे पनि कांग्रेस सभापति गगन थापाले प्रतिपक्षमा बस्ने अडान लिएपछि वाम गठबन्धनको विकल्प नरहेको निष्कर्षमा नेताहरू पुगेका हुन्।
एमालेसँग सहकार्यको कोर्स अघि बढेको पुष्टि गर्दै मंगलबार साँझ जनकपुरधाम विमानस्थलमा संयोजक प्रचण्डले भने, ‘हाम्रो पार्टी र एमालेबीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।’
ओलीसँगको गोप्य भेटलगत्तै प्रचण्डले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र संसदीय दलका नेता इन्द्र आङ्बोसँग ब्रिफिङ गरेका थिए। नेता आङ्बोका अनुसार कांग्रेसले तीन दल मिलेर प्रदेशमा सरकार चलाउन अस्वीकार गरेपछि प्रदेशसभा जोगाउन एमालेसँग मिल्नुको विकल्प नरहेको प्रचण्डको भनाइ थियो।
कांग्रेस प्रतिपक्षमा बस्ने भएपछि सुदूरपश्चिम, कर्णाली र बागमतीमा सरकार पुनर्गठनको खेल सुरु भइसकेको छ भने कोशी र लुम्बिनीमा पनि यसैको तरंग छ। एमाले सचिव महेश बस्नेतले पनि सामाजिक सञ्जालमार्फत ओली र प्रचण्डबीचको भेटघाट सकारात्मक रहेको र यसले सहकार्यलाई औपचारिक मोड दिएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभई मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबीचको बृहत्तर एकताका लागि सकारात्मक पाइला बन्न सकोस्।’
यसअघि यो सहकार्यले २०७९ साल फागुन १५ गते राष्ट्रपतिको निर्वाचनका क्रममा टुटेको थियो। त्यसयता केन्द्रमा धेरै राजनीतिक उतारचढाव आए। २०८२ भदौमा भएको जेनजी आन्दोलन पश्चात् ओली नेतृत्वको सरकार ढलेर भएको २०८२ फागुन २१ को निर्वाचनमा रास्वपाले ठूलो बहुमत ल्याएपछि एमाले, कांग्रेस र नेकपा केन्द्रमा सानो संख्यामा खुम्चिँदै विपक्षमा पुगेका थिए। तर, प्रदेशहरूमा भने यी दलहरू अझै निर्णायक छन्।
ओलीलाई भेटेर जनकपुर आइपुगेका संयोजक प्रचण्ड बुधबार हुने मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन्। उक्त कार्यक्रमलाई प्रचण्डसँगै नेकपा सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यस प्रशिक्षण लगत्तै वामपन्थी सहकार्यले थप औपचारिक रूप लिने नेताहरूले बताएका छन्। नागरिक दैनिक