काठमाडौँ I प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन आज राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन् ।
राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्तावको प्रस्तावक नेपाली कांग्रेसको राष्ट्रिय सभा संसदीय दलका नेता कमला पन्त रहनुभएको छ ।
कांग्रेसका सचेतक पदमबहादुर परियार, नेकपा एमालेका सांसद सोमनाथ पोर्तेल, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक मदनकुमारी शाह गरिमा तथा जनता समाजवादी पार्टी नेपालका सांसद पूजा चौधरीले प्रस्तावको समर्थन गर्नुभएको छ ।
प्रस्तावमा मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, चट्याङ र हिमताल विस्फोटको जोखिम बढिरहेको र यस्तो अवस्थामा सरकारको पूर्वतयारी पर्याप्त नरहेको भन्दै गृहमन्त्रीसँग स्पष्ट जवाफ मागिएको छ ।
प्रस्तावमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ ले यस वर्ष देशभर ५१ हजार ८ सय ६८ घरधुरीका २ लाख २६ हजार ६ सय ६१ नागरिक मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्ने अनुमान गरेको उल्लेख छ ।
तापक्रम वृद्धि, आकस्मिक बाढी, पहिरो र हिमताल विस्फोटको जोखिम पनि बढ्दै गएको हुनाले समयमै प्रभावकारी तयारी आवश्यक रहेको जरुरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्तावमा भनिएको छ ।
ध्यानाकर्षण प्रस्तावमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्व रिक्त रहेको विषय पनि उठाइएको छ ।
त्यस्तै संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय, प्राधिकरणको नेतृत्व रिक्तताको समाधान, विपद् पूर्वसूचना प्रणालीको प्रभावकारिता तथा दुर्गम क्षेत्रका नागरिकसम्म सूचना पुर्याउने वैकल्पिक संयन्त्रबारे पनि सरकारले जानकारी दिनुपर्ने माग गरिएको छ ।
यसका साथै विपद्पछिको उद्धार, राहत र पुनःस्थापनाको तयारी तथा जोखिमयुक्त समुदायको सुरक्षाका लागि सरकारले गरेका तयारीबारे राष्ट्रिय सभालाई विस्तृत जानकारी गराउन प्रस्तावमा माग गरिएको छ ।