काठमाडौँ । सिंहदरबारमा निर्माणधीन संसद् भवनको भौतिक प्रगति ९६ प्रतिशत पुगिसक्यो । दुई महिनाअघि नै निर्माणको म्याद पनि सकिसक्यो । पछिल्लो पटक थप गरिएको म्यादमा पनि सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गर्ने तयारी भइरहेकोे सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एवं प्रवक्ता तथा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक रोशन श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार पछिल्लो पटक (छैटौँ पटक) थपिएको ९० दिनको म्याद समेत गुज्रिएपछि अब सार्वजनिक खरिद नियमावलीको १५औँ संशोधनलाई टेकेर सातौँ पटक म्याद थप्ने तयारी भइरहेको हो । ‘म्याद सकिएपछि ठेक्कालाई कानुनी रूपमा जीवित राख्न म्याद थप अनिवार्य हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘सरकारले सबै ठेक्काहरूमा म्याद थप गर्ने गरी ल्याएको १५औँ संशोधनबमोजिम नै अहिले यो प्रक्रिया अगाडि बढेको हो ।’ सिभिल वर्कका लागि थपिएको म्याद जेठ ९ गते र इन्टेरियरको जेठ १५ गते नै म्याद सकिइसकेको थियो ।
त्यसयता म्याद थपका लागि निर्माण व्यवसायीले निवेदन दिइसकेका छन् । गत असार १ गते निरीक्षणका लागि संसद भवन पुगेका सभामुख डीपी अर्यालले निर्माण कार्य थप लम्बिए दैनिक एक करोड रुपैयाँ जरिवाना तिराउनुपर्ने चेतावनीसमेत दिएका थिए । तर कुनै जरिवाना नतिराएरै म्याद थपको तयारी भइरहेको छ ।
प्रतिनिधिसभा हल तयारः पूर्वाधारको काम सकियो
राष्ट्रिय सभाको हलमा चारवटा लेयरमा फल्स सिलिङको काम गर्नुपर्ने हुन्छ, जसमध्ये अहिले चौथो लेयरको काम अन्तिम चरणमा पुगेको छ ।
प्रतिनिधिसभाको हल बैठक सञ्चालनका लागि पूर्ण रूपमा तयार भइसकेको छ । श्रेष्ठका अनुसार अब संसद सचिवालयले चाहेको खण्डमा नयाँ भवनबाटै प्रतिनिधिसभाको बैठक सुरु गर्न सकिने प्राविधिक अवस्था रहेको छ ।
नयाँ संसद भवनको सबैभन्दा महत्वपूर्ण प्रतिनिधिसभाको हलमा क्यामेरा जडान, अडियो–भिडियो कन्फरेन्सिङ सिस्टम र बैठकको प्रत्यक्ष प्रसारण (लाइभ ब्रोडकास्ट) का लागि आवश्यक पर्ने सबै उपकरणहरू जडान भइसकेका छन् । ‘प्रतिनिधिसभाको हल एकदमै तयार छ, त्यहाँ केही पनि समस्या छैन,’ श्रेष्ठले भने ‘क्यामेरादेखि कन्फरेन्सिङ सिस्टमसम्म सबै चिजको परीक्षण भइसकेको छ । अब हल मात्र चलाउने कि सबै संसद नै एकैपटक सार्ने भन्ने विषय सचिवालयको निर्णयमा भर पर्छ ।’
राष्ट्रिय सभा हलमा के काम बाँकी छ ?
राष्ट्रिय सभातर्फ भने केही काम अझै बाँकी छन् । त्यहाँ विशेषगरी फल्स सिलिङको काम भइरहेको छ । राष्ट्रिय सभाको हलमा चारवटा लेयरमा फल्स सिलिङको काम गर्नुपर्ने हुन्छ, जसमध्ये अहिले चौथो लेयरको काम अन्तिम चरणमा पुगेको छ । ‘राष्ट्रिय सभाको फल्स सिलिङको काम आजभोलिमै सकिन्छ, त्यसपछि वाल प्यानलिङ र एकोस्टिकको काम सुरु हुन्छ,’ श्रेष्ठले भने, ‘यो काम सकिएपछि मात्र राष्ट्रिय सभामा कन्फरेन्सिङ सिस्टम जडानको प्रक्रिया सुरु हुनेछ ।’
अरु के–के काम हुँदैछ?
हाल भवनका विभिन्न ब्लकहरूमा फिनिसिङ र प्राविधिक परीक्षणका कामहरू तीव्र गतिमा भइरहेको जनाएको छ । विशेष गरी सुरक्षा प्रणाली, प्रािविधिक परीक्षणका कामहरु साथै अग्निनियन्त्रक उपकरण जडानलगायतका काम भइरहेको छ । भवनको सेन्ट्रल लबीमा सीसीटीभी क्यामेरा जडान गर्ने र त्यसको मुख्य सर्भरहरू स्थापना गर्ने काम भइरहेको छ । हलभित्रको सुरक्षा प्रणाली सकिए पनि एकीकृत सर्भर व्यवस्थापनको काम बाँकी छ ।

यस्तै भवनमा जडान गरिएका फायर फाइटिङ इक्विपमेन्ट (आगो निभाउने प्रणाली) र एचभीएसी (केन्द्रीय वातानुकुलित प्रणाली) को अहिले ’टेस्टिङ र कमिसनिङ’ को काम भइरहेको छ ।
संघीय संसद सचिवालयको भवन करिब सम्पन्न भइसकेको छ र त्यहाँ फर्निचर राख्ने काम सुरु भएको छ । राजनीतिक दलका संसदीय दलका कार्यालयहरू पनि तयार भइसकेका छन् ।
भीभीआईपी ब्लक अर्थात् अति विशिष्ट व्यक्तिहरूका लागि छुट्याइएका कक्षहरूमा अहिले अन्तिम टचअप र फर्निचर व्यवस्थापनको काम भइरहेको छ ।
२०७६ असोज १६ गते तुन्दी–सेक जेभीसँग ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा ३ वर्षभित्र (२०७९ असोज १६ सम्म) सक्ने गरी ठेक्का सम्झौता भएको थियो तर, विभिन्न कारण देखाउँदै पटक पटक म्याद थप भइरहेको छ ।
भवन निर्माणको सिभिलतर्फको म्याद गत जेठ ९ गते र इन्टेरियरतर्फको म्याद जेठ १५ गते नै सकिएको थियो । म्याद सकिएपछि केही समय कामको वैधानिकतामा प्रश्न उठे पनि सरकारले सार्वजनिक खरिद नियमावलीमा गरेको १५औँ संशोधनले बाटो खोलेको छ । निर्माण व्यवसायीले थप समयका लागि माग गरेको र त्यसमा विभागले प्राविधिक अध्ययन गरिरहेको विभागले जनाएको छ ।
कुल १२ ब्लकमा विभाजित यो अत्याधुनिक भवन निर्माण सम्पन्न भएपछि नेपालको संसदीय अभ्यास आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालन हुनेछ ।
फागुन २१ को निर्वाचनपछि नयाँ संसद भवनको एक हललाई प्रतिनिधिसभाको वैकल्पिक हल बनाएर संसद सञ्चालन गरिँदै आएको छ । ९६ प्रतिशत भौतिक प्रगति भइसकेको यो परियोजनाको बाँकी ४ प्रतिशत काममा मुख्यतया फिनिसिङ, सजावट र केही प्राविधिक उपकरणहरूको अन्तरसम्बन्ध मात्र बाँकी रहेको विभागले जनाएको छ ।
छैटौँ म्याद गुज्रियो सातौँ थपिँदै
२०७६ असोज १६ गते तुन्दी–सेक जेभीसँग ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँमा ३ वर्षभित्र (२०७९ असोज १६ सम्म) सक्ने गरी ठेक्का सम्झौता भएको थियो तर, विभिन्न कारण देखाउँदै पटक पटक म्याद थप भइरहेको छ ।
सम्झौता अनुसार २०७९ असोज १६ गते निर्माण सम्पन्न गर्नुपर्नेमा कोरोना महामारीका कारण ढिलाइ भएको भन्दै पहिलोपटक उक्त ठेक्काको म्याद थपियो । ६ महिना म्याद थप गरिएपछि निर्माण सम्पन्न गर्नुपर्ने म्याद २०८० वैशाख १४ गते कायम भएको थियो । पहिलोपटक म्याद सकिँदा निर्माण सम्पन्न नभएपछि कुनै पनि कारणविना दोस्रो पटकका लागि फेरि ६ महिना म्याद थप गरिएको थियो । तर त्यस म्यादभित्र पनि काम सम्पन्न हुन सकेन पुनः तेस्रो पटक २०८० असोज २० गतेदेखि चैत १९ गतेसम्म म्याद थपिएको थियो ।
तर त्यस म्यादमा काम सम्पन्न भएन, चौथो पटक थपिएको म्याद अनुसार २०८१ चैत १८ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । त्यो म्याद गुज्रिएको पछि २०८२ पुस १६ सम्मका लागि पाँचौँ म्याद थपिएको थियो । तर यो म्यादमा पनि सम्पन्न हुन सकेन ।
यसपछि म्याद थप नगरी काम भइरहेको थियो । तर गत फागुनमा ९० दिनका लागि म्याद थपियो । उक्त म्याद जेठमा सकियो । त्यसयता निरन्तर काम भइरहेको छ । साथै म्याद थपको प्रक्रिया पनि सुरु भएको छ ।
गत भदौ २३/२४ गतेको जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आगजनीमा ध्वस्त भएको थियो । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा वि.सं. २०६५ साल जेठ १५ गतेदेखि संसद् (संविधानसभा) को बैठक बस्न सुरु भएको थियो । जेनजी आन्दोलनमा खरानी बनेको केन्द्र पुनस्थापना (रेट्रोफिट) गर्न सकिने अवस्था नभएकोसमेत भवन निर्माण विभागले जनाएको छ । यो केन्द्रको भवन भत्काएर नयाँ बनाउने वा यसलाई सुरक्षित राख्नेबारे निर्णय हुन बाँकी रहेको छ । रातोपाटी