जनकपुरधाम । मधेश प्रदेश सरकारले रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित आफ्ना नागरिकका लागि एक करोड ९६ लाख रुपियाँ बराबरको राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ ।
मङ्गलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढी तथा त्यसबाट सिर्जित विपद्का कारण प्रभावित मधेश प्रदेशका नागरिकलाई राहत, उपचार तथा आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकका निर्णयबारे प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिनुभयो ।
सरकारले बाढीका कारण मृत्यु भएका मधेश प्रदेशका नागरिकका परिवार वा प्रचलित कानुनबमोजिमका नजिकका हकवालालाई प्रति मृतक एक लाखका दरले पारिवारिक राहत उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, विपद्मा परी घाइते भएका नागरिकलाई मधेश प्रदेश सरकारअन्तर्गतका स्वास्थ्य संस्थामा उपलब्ध हुन नसक्ने विशेषज्ञ सेवा वा अत्यावश्यक उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहजीकरण गर्न निर्देशन दिइएको छ ।
बाढी प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा ७ हजार थान कम्बल र ७ सय सेट टेन्ट उपलब्ध गराइने भएको छ । ती राहत सामग्री १ करोड ९६ लाख रुपियाँ बराबरका छन् । सामग्री गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोमार्फत नुवाकोट र रसुवाका जिल्ला प्रशासन कार्यालय, बागमती प्रदेश सरकार तथा प्रभावित स्थानीय तहका जनप्रतिनिधिको रोहबरमा हस्तान्तरण गरिने निर्णय भएको छ ।
मन्त्रिपरिषद् बैठकले स्थानीय सेवा–गठन तथा सञ्चालन ऐन, २०८१ मा आवश्यक संशोधनका लागि तयार गरिएको मस्यौदामा राय तथा परामर्श लिन प्रचलित कानुनबमोजिम प्रदेश लोकसेवा आयोगमा पठाउने निर्णय पनि गरेको छ ।
यसैगरी, स्थानीय तहमा कार्यरत कर्मचारीको सरुवा प्रक्रियालाई व्यवस्थित, पारदर्शी र न्यायोचित बनाउन तयार गरिएको ‘स्थानीय तहका कर्मचारीहरूको सरुवा मापदण्ड, २०८३’ समेत बैठकले स्वीकृत गरेको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।