काठमाडौँ । भदौ १० गते रसुवा भोटेकोशीमा गएको अप्रत्याशित बाढीमा काठमाडौँ महानगरपालिका भित्रका १६ जना नागरिक वेपत्ता हुनुभएको प्रारम्भिक विवरण प्राप्त भएको छ । यस्तै एक जनाको घर बगाएको छ । वेपत्ता हुनेमा वडा नं. १ बाट १ जना हुनुहुन्छ । उहाँ रसुवाको घट्टे खोलाबाट वेपत्ता हुनुभएको हो । वडा नं. ६ बाट २ परिवारका ५ जना वेपत्ता हुनुहुन्छ । वडा नं. ३१ बाट ४ जना, वडा नं. २९ बाट १ जना, वडा नं. २६ बाट ५ जना वेपत्ता हुनुहुन्छ ।
वडा नं. २३ का उमा श्रेष्ठको देवीघाटमा भएको घर बगाएको छ । काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन हेल्प डेक्स तथा विपद सूचना केन्द्रबाट यो विवरण संकलन गरिएको हो । महानगरपालिकाले राष्ट्रिय सभा गृहमा केन्द्र सञ्चालन गरेको छ । रसुवा भोटेकोशी बाढीमा परेका महानगरबासीको संख्या अवस्था र आवश्यकता पत्ता लगाउने, प्रभावित व्यक्तिहरुलाई सहयोग गर्न इच्छुक महानगरपालिका भित्रका व्यक्ति, कम्पनी, संस्था तथा निजी क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्ने वातावरणमा सहजीकरण गर्न, रसुवा भोटेकोशी बाढीमा महानगरबासीमा परेको प्रभाव तथा क्षतिको विवरण संकलन गर्न केन्द्र स्थापना गरिएको हो । केन्द्रबाट नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम गरिरहेको छ ।
काठमाडौँबाट रसुवा, गोसाइँकुण्ड लगायत स्थानमा आन्तरिक पर्यटन तथा तीर्थाटनका लागि समूह निर्माण गरेर जाने थुप्रै संख्यामा व्यक्तिहरु हुनुभएको अनुमान छ । यसमा पनि ठमेल क्षेत्रबाट धेरै व्यक्तिहरु जानु भएको हुन सक्छ । यसको खोजी गरिरहेका छौँ । विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिनुभयो ।
केन्द्रमा सम्पर्क गर्ने व्यक्तिहरुले, आफूले दिन खोजेको लत्ता कपडा तथा खाद्यान्न कसरी प्रदान गर्ने, प्रभावित क्षेत्रका बालबालिकाको शिक्षाका लागि स्टेशनरी दिन चाहन्छौँ, कसरी पु¥याउने?, जिन्सी सामान दिन चाहेको छ, कहाँ दिने, जस्ता सवाल सोध्ने गर्नुभएको छ ।
सहयोगको अपेक्षा गर्नेहरुमध्ये, बुबा आमा वेपत्ता हुनुभएको छ, नानीबाबुको शिक्षाका लागि कसरी सहयोग गर्नुहुन्छ? काठमाडौँ बाहिर जान कसरी सहयोग लिन सकिएला, जस्ता जिज्ञासा राख्ने गर्नुभएको छ । केन्द्रमा एक जना जनप्रतिनिधि र २ जना कर्मचारी रहेर विवरण संकलन गरिरहनु भएको छ । बाढीजन्य विपत र सहयोगसँग सम्बन्धित जानकारी लिन तथा दिनका लागि ०१ ५३४०८८० मा सम्पर्क गर्न सकिनेछ । यस्तै कल सेन्टरको निःशुल्क फोन नं. १६६००१५५११ र मेट्रो एफ. एम. का स्टेशन म्यानेजर केशवप्रसाद नेपालको फोन नं. ९८४१२५०७८० मा सम्पर्क गरेर जानकारी लिन दिन सकिनेछ । यस्तै मानसिक स्वास्थ्य परामर्श तथा स्वास्थ्य सेवाका लागि ११८० मा सम्पर्क गर्न सकिनेछ ।