काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन अमेरिका जानुहुने भएको छ । प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसङ्घको महासभामा जानुहुने भएको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभएको हो । उहाँका अनुसार महासभामा नेपालको तर्फबाट राख्ने धारणा बनाउन विभिन्न तहमा छलफल र परामर्श भइरहेको छ ।
प्रधानमन्त्री शाहको पहिलो उच्चस्तरीय विदेश भ्रमण अमेरिका हुने भएको छ । अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा हुने महासभामा नेपालको प्रतिनिधित्व गर्दै उहाँले सम्बोधन गर्नुहुने छ । उहाँको सम्बोधनको खाका तयार गर्न प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालयलगायत सबै मन्त्रालय क्रियाशील छन् ।
भदौ १० गते लाङटाङ लिरुङ हिमालको ठुलो ढिक्का चट्टानसहित खसेपछि रसुवाको भोटेकोशी हुँदै नेपालमा विनाशकारी हिमबाढी प्रवेश गरेको थियो । हिमबाढीले नेपाल–चीन सीमाक्षेत्रको रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म ठुलो विनाश गरेको छ । महासभामा नेपालमा जलवायु परिवर्तनले पारेको उच्च प्रभावका कारण अहिलेको कष्टकर समयको सामना गर्नु परिरहेको विषय तथ्यसहित प्रस्तुत गर्नुहुने प्रारम्भिक तयारी रहेको छ ।
प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीस्तरको भ्रमणमा उठाउनुपर्ने मुद्दाका बारेमा नेपालभित्र र नेपालबाहिर रहेका विज्ञ तथा वैज्ञानिकसँग केही चरणको छलफल गरिसकेको छ । त्यसका लागि सरकारले हालसम्मको मानवीय तथा भौतिक क्षतिको विश्लेषण गरिरहेको छ । त्यसका लागि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालय मिलेर क्षतिको आकलनका लागि तथ्य विश्लेषणसहितको प्रतिवेदन तयार गर्न गृहकार्य भइरहेको छ । परराष्ट्र मन्त्रालयले पनि भ्रमणको कार्यसूची बनाउने गृहकार्य थालेको छ । प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनालसमेत उच्चस्तरीय भ्रमणमा सहभागी हुनुहुने छ । सोही अनुसार नेपालमा उपलब्ध कूटनीतिक नियोगका प्रतिनिधिसँग नेपालले भोगिरहेको पीडा विश्वमञ्चमा उठाउनुपर्ने जलवायु न्यायको विषयमा दुई दिनअघि उहाँले बृहत् छलफल गर्नुभएको थियो ।
उता कृषि, वन तथा पर्यावरण मन्त्रालयले जलवायुविज्ञ तथा वैज्ञानिकहरूसँग परामर्श गरेर प्रारम्भिक तयारी गरेको छ । बृहत् तयारी भने मन्त्री गीता चौधरी शनिबार स्वदेश फर्कनुभएपछि अगाडि बढ्ने मन्त्रालयले जनाएको छ । भोटेकोशी हिमबाढीले धेरै जनधनको क्षति गरेपछि विश्वको ध्यान नेपालतर्फ केन्द्रित छ । यस्तो समयमा विश्वमञ्चको बलियो आधारशीला मानिने राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री शाहले सहभागिता जनाउनुपर्ने सुझाव विज्ञसमूहले दिँदैआएको छ । यसअघि परराष्ट्रमन्त्री खनालले राष्ट्रसङ्घको महासभामा भाग लिने निर्णय मन्त्रीपरिषद्ले गरेको थियो ।
महासभाको तयारी
राष्ट्रसङ्घको महासभा विश्वव्यापी सङ्गठनको मुख्य नीति निर्माण गर्ने प्रमुख अङ्ग हो । सबै सदस्य राष्ट्रलाई एकै थलोमा भेला गराएर महासभाले संयुक्त राष्ट्रसङ्घको बडापत्रले समेटेका अन्तर्राष्ट्रिय मुद्दाहरूमा बहुपक्षीय छलफल गर्न वैश्विक मञ्च प्रदान गर्दछ । जहाँ राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये प्रत्येकको समान मत हुन्छ ।
यस वर्ष हुने ८१ औँ महासभा सेप्टेम्बर ८ मा भव्य उद्घाटनको तयारी सुरु भएको छ । ज्वलन्त वैश्विक मुद्दा र हालसम्म भएका प्रगतिको समीक्षा विभिन्न सत्रमा हुने कार्यसूची तय भएको छ । जसमा नेपालको हिमबाढीले गरेको विनाश र हिमाल संरक्षणको मुद्दाले स्थान पाउने अपेक्षा गरिएको छ । उद्घाटन सत्रको नेतृत्व यस पटक दक्षिण एसियाले गर्ने भएको छ ।
बङ्गलादेशका विदेशमन्त्री खलिलुर रहमानले उद्घाटनको अध्यक्षता गर्नुहुने तय भएको छ । सेप्टेम्बर ८ देखि सेप्टेम्बर २८ सम्म चल्ने महासभाको उद्घाटनसत्र र अन्य सत्रको तयारी तीव्र पारिएको महासभा आयोजक समितिले जनाएको छ । सेप्टेम्बर २२ देखि २६ सम्म साधारण बहस सञ्जालन हुने छ ।