ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय क्याप्सुल ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहको कमाण्डमा परिचालित विशेष टोलीले विशेष सूचनाका आधारमा २०८३ भदौ २२ गते दिउँसो करिब ३ः३० बजे ललितपुर महानगरपालिका–९ च्यासलमा कारबाही गरेको हो।
कारबाहीका क्रममा सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भई हाल सातदोबाटोमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शंखमुलमा कोठा भाडामा बस्दै आएका ३२ वर्षीय सुजित देउला पक्राउ परेका छन्।
उनीहरूको साथबाट ५८ बक्समा रहेको १ हजार ७४० फाइल अर्थात् १७ हजार ४ सय क्याप्सुल ट्रामाडोल बरामद भएको छ। लागूऔषध ओसारपसारमा प्रयोग भएको आशंकामा एउटा होन्डा डिओ स्कुटरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ‘केजीएफ च्याप्टर–२’ नामबाट नेपालमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको सूचनाका आधारमा यसअघि पनि इन्टेलिजेन्स ब्युरोबाट खटिएको विशेष टोलीले कारबाही गरेको थियो। उक्त कारबाहीका क्रममा दुई लाखभन्दा बढी ट्रामाडोल क्याप्सुल बरामद भएको टिपोटमा उल्लेख छ।
यसै सञ्जालका नाइके भनिएका वीरधोज तामाङ उर्फ ‘वीरु’ ले कारागारबाटै लागूऔषध कारोबार सञ्चालन गरिरहेको आशंकासमेत प्रहरी अनुसन्धानको दायरामा रहेको छ। च्यासलबाट पक्राउ परेका राई र देउलाको उक्त समूहसँगको सम्बन्ध तथा उनीहरूको भूमिकाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
पक्राउ परेकाहरूबाट लागूऔषधको स्रोत, कारोबारको तौरतरिका, वितरण सञ्जाल र यसमा संलग्न अन्य व्यक्तिबारे महत्वपूर्ण सूचना प्राप्त हुन सक्ने प्रहरीको अपेक्षा छ। घटनामा संलग्न थप व्यक्तिको खोजी तथा पहिचानको कामसमेत भइरहेको बताइएको छ।
बरामद लागूऔषध र स्कुटरसहित पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको छ। घटनाको थप विवरण अनुसन्धानपछि खुल्ने सशस्त्र प्रहरी बलले जनाएको छ।