सर्लाही । सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेशका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णुप्रसाद भट्टले खुला सीमानाकाबाट हुने भन्सार छली अर्थात् तस्करी नियन्त्रणमा सक्रियता बढाउनुभएको छ ।
खुला सीमानाकाबाट हुने तस्करी नियन्त्रणका सम्बन्धमा उहाँले सीमा क्षेत्रको निरीक्षण, विभिन्न जिल्लाका सरोकारवालासँग अन्तरक्रिया तथा मातहतका कर्मचारीलाई निर्देशन दिने कार्यमा सक्रियता देखाउनुभएको हो । डिआइजी भट्टले सर्लाहीमा सीमा क्षेत्रको पछिल्लो अवस्था र सशस्त्र प्रहरीका गतिविधिबारे मङ्गलबार जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, उद्योगी, व्यवसायी, सञ्चारकर्मीलगायतसँग अन्तरक्रिया गर्नुभएको छ ।
कविलासी नगरपालिकास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १० गण, अग्रवामा आयोजित अन्तरक्रियामा डिआइजी भट्टले सशस्त्र प्रहरीको तर्फबाट तस्करी नियन्त्रणका लागि अधिकतम प्रयास गरिरहेकाले सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण अभियानअन्तर्गत बदमासी गरेको भेटिएका आफ्ना कर्मचारीलाई कारबाही गर्नेदेखि तस्करीका सामग्री बरामद गर्ने, सीमा क्षेत्रका बासिन्दासँग सुमधुर सम्बन्ध कायम राख्नेलगायतका प्रयास भइरहेको जानकारी दिनुभयो ।
अन्तरक्रियामा उद्योग वाणिज्य सङ्घ मलङ्गवाका अध्यक्ष वीरेन्द्र साहले अवैध तस्करी रोक्न सके वैध रूपमा व्यापार गर्ने स्थानीय व्यापारीलाई फाइदा पुग्ने बताउनुभयो ।
नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले खुला सीमानाकाका कारण तस्करी शून्य गर्न सम्भव नरहेकाले सशस्त्र प्रहरीले ठुलो परिमाणमा हुने निकासी–पैठारी रोक्न सक्रियता बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
चेम्बर अफ कमर्सका प्रतिनिधि एवं व्यवसायी सञ्जय गुप्ताले सीमा क्षेत्रमा सशस्त्र प्रहरीले पछिल्लो समय सकारात्मक भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टी सर्लाहीका संयोजक रामेश्वर रायले बाहिर हल्ला भएजस्तो सीमा क्षेत्रमा घरायसी प्रयोजनका सामग्री ओसारपसारमा कठिनाइ नरहेको बताउनुभयो ।
नेकपा (एमाले) सर्लाहीका अध्यक्ष राजनारायण साहले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणसँगै लागुऔषधको ओसारपसार नियन्त्रणमा पनि सबैले सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई साथ दिनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरले सीमा क्षेत्र विस्तारै व्यवस्थित हुँदै गएको अनुभूति व्यक्त गर्नुभयो ।
डिआइजी भट्टले सर्लाहीअघि बारा, पर्सालगायत जिल्लाका सीमा क्षेत्रको निरीक्षणसँगै सम्बन्धित जिल्लाका सरोकारवालासँग अन्तरक्रिया तथा मातहतका सशस्त्र प्रहरी अधिकारीलाई निर्देशन दिनुभएको थियो ।