इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज फेरि अशान्त बनेको छ। साउनमा तीन जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनाको त्रास सेलाउन नपाउँदै शनिबार साँझ देवानगञ्ज वडा नं-१ मा फेरि गोली चलेको छ। गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।
वडा नं-१ स्थित लक्ष्मीनारायण मन्दिर अगाडि भएको उक्त घटनामा सोही ठाउँका १९ वर्षीय निरज यादव घाइते भएका हुन्। उनको तिघ्रामा गोली लागेको छ। गाउँपालिका अध्यक्ष वेचन मेहताका अनुसार घाइते यादवको हाल विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ।
घटनालगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार घटनामा संलग्न अन्य छ जना भने फरार छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवम् प्रवक्ता चन्द्र खड्काले गोली प्रहार भएको पुष्टि गर्दै यस विषयमा विस्तृत विवरण आउन अझै बाँकी रहेको जानकारी दिए।
केही समयअघि मात्रै यसै क्षेत्रमा ठूलो हिंसात्मक घटना भएको थियो। गत साउन १० गते देवानगञ्ज वडा नं-३ कप्तानगञ्जमा दुई पक्षबीचको झडपले उग्र रूप लिँदा तीन जनाको मृत्यु भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि स्थानीय ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको ज्यान गएको थियो।
झडपका क्रममा घाइते भएका ओमप्रकाशको साउन १० गते राति, जयप्रकाशको साउन १४ गते र रवीन्द्रको साउन १९ गते काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो। उक्त घटनाको मुख्य कारण धार्मिक विवाद थियो। असार १४ गते मुस्लिम समुदायले मोहर्रम मेलाको अवसरमा बजारको बीच भागमा झण्डा गाडेका थिए। पछि साउनमा हिन्दु समुदायले बोलबमको अवसरमा सोही स्थानमा झण्डा गाडेपछि विवाद सुरु भएको थियो।
वडाध्यक्ष र गाउँपालिका अध्यक्षसम्म पुगेको उक्त विवाद साउन १० गते बोलबम जाने युवाले मन्दिरमा ठूलो आवाजमा ‘डिजे’ बजाएको विषयलाई लिएर दुई पक्षबीच झडपमा परिणत भएको थियो। पछिल्लो समय शान्त बन्दै गएको कप्तानगञ्जमा फेरि गोली चलेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् भने सुरक्षा व्यवस्थामाथि चुनौती थपिएको छ।