जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले मधेशको अबको बाटो एकता, शान्ति र समृद्धिको हुनुपर्ने बताउनुभएको छ । आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले केही बाह्य तथा आन्तरिक शक्तिले मधेश र कोशी प्रदेशलाई ‘ब्याटल ग्राउन्ड’ बनाउन खोजेको दाबी गर्दै त्यस्तो अवस्था आउन नदिन सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो ।
डा. सिंहले वर्तमान सरकारमा रहेको दल रास्वपा सरकारमा पुग्ने आधारमा मधेशको महत्वपूर्ण भूमिका रहेको दाबी गर्दै भन्नुभयो, “मधेशबाट प्राप्त ३१ सिट र ठूलो मतका कारण रास्वपा बलियो बनेको हो । मधेशले त्यसअनुसार सम्मान, अधिकार र विकासमा प्राथमिकता पाउनुपर्छ ।” “वर्तमान सरकारमा रहेको दललाई मधेशले ८५ प्रतिशत मत दिएको छ भने विकास पनि त्यसै आधारमा हुनुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले मधेशका जनताको प्रमुख आवश्यकता शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सरसफाइ तथा शान्ति सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । मधेशमा पोखरी, मन्दिर र मस्जिदको सौन्दर्यीकरणका कुरा भए पनि विद्यालय र अस्पतालको सुधार तथा सौन्दर्यीकरणलाई पर्याप्त प्राथमिकता नदिइएको उहाँले बताउनुभयो । “मधेशले पाउनुपर्ने अधिकार पाएको छैन । जनताका इच्छा र आकांक्षा धेरै छन्,” उहाँले भन्नुभयो ।
प्रतिनिधिसभा सदस्य डा। सिंहले मधेशलाई झापादेखि कञ्चनपुरसम्मको भूगोलका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो । मधेशलाई आगामी दिनमा कुनै पनि प्रकारको द्वन्द्वको केन्द्र बनाउन नहुनेमा उहाँले जोड दिनुभयो । उहाँले आगामी छठ पर्वबाट मेचीदेखि महाकालीसम्म पदयात्रा गर्ने अठोटसमेत व्यक्त गर्नुभयो । सो क्रममा युवा, जनता, सीमा तथा दुई देशबीचको सम्बन्धलगायत विषयमा जनताका कुरा सुन्ने बताउनुभयो । सिंहले भन्नुभयो, “अब जनताको सुन्छु, कम बोल्छु, बढी सुन्ने काम गर्छु ।”
मधेशमा विकास निर्माणका काम अझै अपूरो रहेको उल्लेख गर्दै उहाँले हुलाकी राजमार्ग निर्माणसमेत पूर्ण रूपमा सम्पन्न नभएको बताउनुभयो । मधेशको विकास र समृद्धिका लागि दीर्घकालीन योजनासहित अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले मधेशमा ‘१० प्रतिशत कमिसन’को चर्चाले प्रदेश बदनाम भएको बताउँदै मधेश आन्दोलनको मूल उद्देश्यमा कमिसनको कुनै स्थान नरहेको बताउनुभयो । मधेशको विकासका लागि स्वास्थ्य, शिक्षा, सिँचाइ, शान्ति, सामाजिक चेतना र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै डा। सिंहले जनताको आवश्यकता र आकांक्षालाई केन्द्रमा राखेर विकासको बाटो तय गर्नुपर्ने धारणा राख्नुभयो । मधेशलाई कुनै पनि बहानामा द्वन्द्वको मैदान बनाउन नहुनेमा उहाँले जोड दिनुभयो । गोरखापत्र अनलाइन