वीरगञ्ज । दुई दशकअघि वीरगञ्जमा विश्वविद्यालय बनाउने अभियानमा सहयोग गर्न हरिखेतान बहुमुखी क्याम्पसका कर्मचारी र शिक्षकहरूले एक दिनको तलब सहयोग गरेका थिए। तर, यति लामो समय बित्दा पनि यो रकम सदुपयोग नभएपछि क्याम्पसका शिक्षक तथा कर्मचारी निराश छन् । त्यति मात्र होइन, विश्वविद्यालय स्थापनाका लागि बनेको समितिको अगुवाइ गरेका क्याम्पसका तत्कालीन प्रमुख नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को अनुसन्धानमा तानिएपछि उनीहरू थप सशंकित बनेका छन् ।
वीरगञ्जमा विश्वविद्यालय बनेमा वीरगञ्जकै नाम रहने उत्साह थियो क्याम्पसमा अध्यापन गराउने अध्यापक र कर्मचारीलाई । उक्त क्याम्पसलाई नै आधार बनाएर वीरगञ्ज विश्वविद्यालय बनाउने प्रस्तावले उनीहरू थप उत्साहित थिए । तर, वीरगञ्ज विश्वविद्यालयको सपना मात्र सेलाएन, स्वयं अगुवा नै अनुसन्धानमा तानिएको सूचनाले क्याम्पसका अध्यापक र कर्मचारी निराश मात्र होइन, लज्जित महसुस गरिरहेका छन् ।
हालका क्याम्पस प्रमुख किशोरी राय त्यसबेला पनि क्याम्पसमा अध्यापन गर्थे। वीरगञ्जमा विश्वविद्यालय बन्दा वीरगञ्जकै शान हुन्छ भन्ने उनलाई लागेको थियो। विश्वविद्यालयलाई तलब योगदान गर्नेहरूको सूचीमा उनको पनि नाम थियो। तर, अहिलेसम्म यो विषय अलमलमा मात्र सीमित नभई रकम हिनामिनाको कुरा बाहिरिएपछि आफूहरू निराश भएको उनले बताएका छन् ।
’वीरगञ्जमा विश्वविद्यालय बन्ने कुरा वीरगञ्जकै शानको विषय थियो। स्थानीय शिक्षाको विकासमा पनि यसले ठूलो योगदान गर्छ भन्ने लागेको थियो । त्यसैले हामीले उत्साहित भएर सहयोग गरेका थियौं,’ रायले भने, ’तर यति लामो समय बितिसक्दा पनि विषय अलमलमा रहनु र अहिले रकमको विषयमा अनुसन्धानसम्म हुनुले हामी निराश भएका छौं ।’
विश्वविद्यालय स्थापनाका लागि पर्साका तत्कालीन ८२ गाविसमध्ये धेरैले रकम सहयोग गरेका थिए। बारा र पर्साबाट निर्वाचित तत्कालीन संविधानसभा सदस्यहरूले समेत विश्वविद्यालयका लागि रकम हस्तान्तरण गरेका थिए। स्थानीय उद्योगी, व्यापारी तथा विभिन्न सामाजिक संघसंस्थाले अभियानमा आर्थिक सहयोग गरेका थिए। अभियानका क्रममा रू. २ करोडभन्दा बढी रकम संकलन भएको बताइन्छ ।
स्थानीय उद्योगी, व्यापारी तथा विभिन्न सामाजिक संघसंस्थाको पहलमा करोडौं रकम संकलन भएको थियो
बारा र पर्साका उद्योगी व्यवसायीको संस्था वीरगञ्ज उद्योग वाणिज्य संघले मात्रै ५१ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर, जग्गा खरीद भएपछि मात्र रकम उपलब्ध गराउने सर्त राखिएका कारण संघबाट रकम हस्तान्तरण नभएको संघका पूर्वअध्यक्ष प्रदीप केडियाले बताए । ’जग्गा किनेपछि रकम दिने भन्ने निर्णय भएको थियो। जग्गा खरीद नै नभएपछि हाम्रो तर्फबाट रकम दिनुपर्ने अवस्था आएन,’ केडियाले भने। त्यतिवेला उनी संघका कोषाध्यक्ष थिए। विश्वविद्यालय सञ्चालनका लागि पर्साको गण्डक क्षेत्रनजिक रहेको चिनी मिलको जग्गा प्रयोग गर्ने सम्भावनाबारे त्यसबेला व्यापक चर्चा भएको थियो।
जग्गा व्यवस्थापन हुन नसकेपछि विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढ्न सकेन ।
सीआईबीको अनुसन्धान
विश्वविद्यालय स्थापनाका लागि संकलित रकम वीरगञ्जस्थित कुमारी बैंकको खातामा राखिएको थियो। अहिले सोही खाताबाट रकम निकालिएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार वीरगञ्ज विश्वविद्यालयको नाममा कुमारी बैंकको वीरगञ्ज शाखामा रहेको खाताबाट तत्कालीन हरिखेतान क्याम्पसका प्रमुख भगवानप्रसाद यादवले चेकमार्फत रकम निकालेको विषयमा अनुसन्धान भइरहेको हो। कीर्ते गरी रकम निकालेर व्यक्तिगत रूपमा अपचलन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सीआईबीले अनुसन्धानको फाइल जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ ।
पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । ’बैंकसँग आवश्यक विवरण मागेर बुझ्ने काम भइरहेको छ । अनुसन्धानका क्रममा प्राप्त तथ्यका आधारमा थप प्रक्रिया अघि बढ्छ,’ भट्टराईले बताए । यसबारेमा यादवसँग बुझ्न खोज्दा उनी बोल्न चाहेनन् । आर्थिक अभियानले उनलाई सोध्दा उनले ’भेटेर कुरा गरौंला’ भन्दै फोन काटे । त्यसपछि उनी सम्पर्कमा आएनन् ।
जिल्ला प्रशासन कार्यालय पर्साले पनि गत साउन १ गते कुमारी बैंकको वीरगञ्ज शाखालाई पत्र लेखेर विश्वविद्यालयको खातासम्बन्धी विवरण मागेको थियो । बैंकले साउन ११ गते प्रशासनलाई पठाएको जवाफमा वीरगञ्ज विश्वविद्यालयको नाममा रहेको ००३०००३८९१८००००१ नम्बरको चल्ती खाताबाट भगवानप्रसाद यादवले चेकमार्फत रकम झिकेको विवरण उपलब्ध गराएको छ । ओमप्रकाश खनाल / आर्थिक अभियान