काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनार जोडिएको विवादास्पद अडियो सार्वजनिक भएपछि नेपाल प्रहरीले त्यसबारे आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढाएको छ।अर्कोतर्फ, पार्टीले पनि अनुशासन आयोगमार्फत छानबिन सुरु गर्दै सांसद सुनारलाई औपचारिक कार्यक्रमहरूमा सहभागी हुन रोक लगाइसकेको छ।
सांसद सुनारले एक महिलालाई अमर्यादित शब्द प्रयोग गर्दै गालीगलौज, धाकधम्की तथा शंकास्पद आर्थिक लेनदेनको विषयमा कुराकानी गरेको भनिएको अडियो सामाजिक सञ्जालमा भाइरल छ। उक्त अडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले यसबारे अध्ययन सुरु गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले कानुनको दायराभित्र रहेर आफ्ना संयन्त्रमार्फत घटनाको सूक्ष्म निगरानी र अध्ययन भइरहेको बताएका छन्।
डीआईजी काफ्लेले भने, ‘भाइरल अडियोबारे हालसम्म कुनै पनि प्रहरी युनिटमा पीडित पक्षबाट औपचारिक उजुरी वा गुनासो परेको छैन। यस्ता विषयमा थप कानुनी प्रक्रिया र अनुसन्धान अघि बढाउन पीडितको जाहेरी आवश्यक पर्छ।’ जाहेरी नपरे पनि प्रहरीले आफ्ना संयन्त्रमार्फत यसबारे सत्यतथ्य बुझ्ने काम निरन्तर गरिरहेको उनले सुनाए।
यसैबीच, रास्वपाले पनि घटनालाई गम्भीर रूपमा लिँदै सांसद सुनारमाथि आन्तरिक छानबिन थालेको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषय अत्यन्त संवेदनशील भएको भन्दै रास्वपाले ‘शून्य सहनशीलता’ अपनाउने बताए।
घटनाको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ। अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका लागि उक्त छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको छ।
राज्यका सम्बन्धित निकायहरूबाट हुने स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा पार्टीको पूर्ण सहयोग रहने जनाउँदै रास्वपाले कानुन उल्लंघन वा पदीय आचरणविपरीत कार्य गर्ने जो-कोहीलाई पनि राजनीतिक संरक्षण नदिइने बताएको छ। साभार : नागरिक दैनिक