महोत्तरी। मिथिला–मधेशमा बडादसैँको आगमनसँगै गाउँबस्तीमा गुञ्जिने मौलिक ‘डिग्री ढोल’ बाजाको आवाज बिस्तारै हराउँदै गएको छ। पुस्तौँदेखि दसैँको आगमनको सङ्केत दिने यो परम्परालाई नयाँ पुस्ताले निरन्तरता नदिँदा मिथिला–मधेशको मौलिक लोकसंस्कृति नै सङ्कटमा परेको हो। विगतमा घटस्थापनाका दिनदेखि नै चमार समुदायका व्यक्तिहरूले साँझपख डिग्री ढोल बजाउँदै गाउँबस्ती परिक्रमा गर्ने चलन थियो। डिग्री ढोल बज्न थालेपछि दसैँ आएको अनुभूति हुने र बालबालिका त्यसको पछि-पछि दौडिने गरेको स्थानीयवासी सम्झन्छन्। तर, अचेल गाउँघरमा यो दृश्य देखिन छाडेको छ।
महोत्तरीको औरही नगरपालिका–२ की ७६ वर्षीया नवीन मिश्रलाई डिग्री ढोल बज्न छाडेपछि दसैँको साविक रौनक हराएजस्तो लाग्छ। औरहीकै ७२ वर्षीय पूर्वशिक्षक सीताशरण यादव पनि पुराना परम्परा मासिँदै जाँदा सांस्कृतिक पहिचान कमजोर हुनेमा चिन्ता व्यक्त गर्नुहुन्छ। “पुराना परम्परा सबै हराउँदै गए। अब हाम्रा भावी पुस्ताका लागि पहिचान के रहला भन्ने चिन्ता लाग्छ,” उहाँले भन्नुभयो।
दलित अधिकारकर्मी प्रकाश महराका अनुसार डिग्री ढोल परम्परा लोप हुनुमा पुराना बाजा बजाउनेहरूको उमेर ढल्किँदै जानु र जातीय भेदभावका कारण नयाँ पुस्ताले चासो नदिनु प्रमुख कारण हो। मधेशमा यो बाजा मुख्यत्वः चमार समुदायले मात्र बजाउँदै आएकाले समाजमा विद्यमान हेलाँहोचो र विभेदका कारण नयाँ पुस्ता पुर्ख्यौली पेसातर्फ आकर्षित हुन नसकेको महरा बताउनुहुन्छ। महराले विगत दुई वर्षअघि महोत्तरीकै गौशाला नगरपालिका–७ जमुनियाँमा दसैँमा डिग्री ढोल नबजाएकै निहुँमा स्थानीय वडाध्यक्ष मनोज चौधरीले रातिको समयमा सुतिरहेका रामेश्वर चमारमाथि कुटपिट गरेको घटनासमेत स्मरण गराउनुभयो।
यस्तै, महोत्तरीको सोनमा गाउँपालिका–५ का ८० वर्षीय चन्देश्वर महरा, ७५ वर्षीय महिन्दर महरा र ६५ वर्षीय रामदेव महरा (तीन दाजुभाइ) ले भने अहिलेसम्म पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएको छ। महिन्दर महरा भन्नुहुन्छ, “देशमा तीन तहका सरकार छन्, सबैभन्दा नजिकको स्थानीय सरकार छ। तर के गर्नु, न संरक्षण छ न त सम्मान नै। हामीले सकेसम्म बजाउँदै छौँ। सरकारले संरक्षण र सम्मानको व्यवस्था गरिदिए हाम्रो पुर्ख्यौली पेसा नयाँ पुस्तासम्म हस्तान्तरण हुन सक्थ्यो।” औरही नगरपालिका–२ स्थित चमारटोलका ७५ वर्षीय भरोसी महरा चमारले पनि शरीरले साथ दिएसम्म बाजा बजाउने गरेको बताउनुभयो। “जबसम्म शरीरले साथ दियो, ढोल बजाएँ। अहिले छोरा-नातिहरू ढोल बजाउन मान्दैनन्, के गर्नु?” उहाँले दुःखेसो पोख्नुभयो।
औरही नगरपालिका–७ स्थित सोनामाई मन्दिरमा दसैँका अवसरमा लाग्ने भूत मेलामा भने बिहान-बेलुका डिग्री ढोल बजाउने परम्परा अझै कायम छ। मन्दिरका पुजारी केदार झाका अनुसार पहिले गाउँबस्तीमा गुञ्जिने डिग्री ढोल अहिले मन्दिर परिसरमा मात्र सीमित हुन पुगेको छ। समयअनुसार परम्परालाई परिष्कृत गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न स्थानीय सरकार तथा सरोकारवाला निकायले समयमै यसको संरक्षण र संवर्द्धनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।
मंजित कुमार राम / रेडियो नेपाल