वीरगञ्ज | सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा., पर्साको आयोजनामा तथा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, वीरगञ्ज, म्याग्नस फार्मा प्रा.लि. र रुगंटा वेलफेयर सोसाइटीको सहकार्यमा वीरगञ्ज महानगरपालिका वडा नं. २३ स्थित प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
‘रक्तदान जीवनदान, स्वास्थ्य हाम्रो समाज अभियान’ भन्ने मूल नाराका साथ शनिबार बिहान ८ बजेदेखि श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, प्रसौनी बिर्ताको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा कुल ३४६ जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष सावित्रा कुमारी जैसीको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट तथा मधेस प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष पार्वती आचार्य भट्टलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगञ्जका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगर, सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा., पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, पर्साका उप-अनुसन्धान निर्देशक सन्तोष ढुङ्गेल, श्रीजंग गण, वीरगञ्जका सेनानी प्रभाकर सिलवाल तथा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीलगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. २३ का वडाध्यक्ष अवधकिशोर प्रसाद कुशवाहा, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी, रुगंटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुगंटा तथा ज्ञानदा एकेडेमीका प्रधानाध्यापक राजेन्द्र प्रसाद कोइरालालगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा स्थानीय समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो।
-1795270927.jpeg)
स्वास्थ्य शिविरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका छवटा विभागका कन्सल्टेन्ट चिकित्सकहरूको विशेषज्ञ टोली परिचालन गरिएको थियो। उक्त टोलीमा बालरोग विभागका कन्सल्टेन्ट चिकित्सक डा. फारुक जकी अन्सारी, नेत्र रोग विभागका डा. आदित्य प्रसाद, स्त्री तथा प्रसूति रोग विभागका डा. मधु कुमार साह, नाक, कान तथा घाँटी (ENT) विभागका डा. सुमन खत्री, छाला रोग विभागका डा. निलमणि प्रियदर्शी तथा दन्त विभागका डा. सलोनी झा सहभागी रहेका थिए। उनीहरूले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकीय परामर्श तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरेका थिए।
शिविरमा विभिन्न स्वास्थ्य समस्यासम्बन्धी परीक्षण तथा विशेषज्ञ परामर्श सेवा उपलब्ध गराउँदै कुल ३४६ जना सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको थियो। यसले स्थानीय समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै समयमै स्वास्थ्य परीक्षण तथा विशेषज्ञ परामर्श लिनुपर्ने विषयमा जनचेतना अभिवृद्धि गर्न योगदान पुर्याएको छ। कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। रक्तदान जीवन रक्षासँग प्रत्यक्ष जोडिएको मानवीय कार्य भएकाले स्वैच्छिक रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने तथा रक्तदानको महत्वबारे समुदायलाई जागरूक बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो।
-1795270927.jpeg)
कार्यक्रम सफल बनाउन सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीहरू तथा नेशनल मेडिकल कलेजका तर्फबाट प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी र कर्पोरेट प्रमुख तथा मार्केटिङ म्यानेजर जितेश चन्द्र दास लगायतको सक्रिय समन्वय तथा सहयोग रहेको थियो।
समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले स्वास्थ्य संस्था, सुरक्षा निकाय तथा सामाजिक संस्थाहरूबीचको सहकार्यलाई थप सुदृढ बनाएको छ। नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले स्वास्थ्य सेवालाई अस्पताल परिसरमा मात्र सीमित नराखी समुदायस्तरसम्म विस्तार गर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता जनस्वास्थ्य तथा सेवामूलक अभियानमा निरन्तर सहकार्य गर्दै आएको छ।