काठमाडौँ । कुनै पनि सम्बन्धमा मिठास भर्न एकआपसमा आदानप्रदान हुने उपहारले आपसी सहकार्यलाई थप बलियो बनाउँछ । प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने औपचारिक भारत भ्रमणमा आदानप्रदान भएको कोसेली कूटनीतिले थप पुष्टि गरेको छ । आपसी सम्बन्धलाई औपचारिक साझेदारीमा सीमित नराखी आध्यात्मिक, सांस्कृतिक र जनसम्बन्धको पाटोलाई उत्तिकै मजबुत बनाउने बलियो साङ्केतिक पहलका रूपमा उपहार आदानप्रदानलाई लिन सकिने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सुनाउनुभयो ।
वरिष्ठ संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको उपहार आदानप्रदानले सम्बन्धको पर्यायलाई अर्थपूर्ण बनाउन भूमिका खेलेको छ । नेपाल–भारतको परस्पर मित्रतालाई बहुआयामिक साझेदारीमार्फत बलियोसँग कस्ने कामले जनताको भौतिक आकाङ्क्षामा टेवा पुग्छ । उहाँले भन्नुभयो, “त्यो आकाङ्क्षा पूरा गराउने नेतृत्वबिच भावनात्मक एकता रहँदा भावी सहकार्यको आधार अझ बलियो बन्छ ।” प्रधानमन्त्री शाहले पशुपतिनाथको प्रसादका रूपमा नेपालको रुद्राक्ष, नेत्र चन्दन, शालिग्राम र रातो मत्स्येन्द्रनाथको प्रतिमा उपहार दिनुभयो । नयाँ दिल्लीस्थित हैदराबाद भवनमा सोमबार द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले नेपाली धार्मिक महत्वको उपहार दिनुभएको थियो । भारतका प्रधानमन्त्री मोदी भगवान् पशुपतिनाथको अनुयायी हुनुहुन्छ । पहिलो पटक प्रधानमन्त्री बनेको पाँचौँ दिनमा पशुपतिनाथको दर्शनका लागि नेपाल आइपुग्नुभएको स्मरण टण्डन गर्नुहुन्छ । प्रधानमन्त्री शाहमा पनि आध्यात्मिकता र संस्कृतिको मोह देखिन्छ । टण्डन सुनाउनुहुन्छ, “संयुक्त राष्ट्रसङ्घको महासभामा भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन भनेर प्रधानमन्त्रीले नेपालको धार्मिक आस्थाको धरोहरलाई अन्तर्राष्ट्रियकरण गर्न सक्नु चानचुने कुरा होइन ।”
भारतका प्रधानमन्त्रीलाई दिइएको उपहार रुद्राक्षको धार्मिक महत्व भारतमा उच्च छ । यहाँको रुद्राक्षमा शिवको शक्ति रहेको मानिन्छ । पशुपतिनाथको नेत्र चन्दन पाउनु भनेको भगवान्को कृपा प्राप्त गर्नु सरह हो । पशुपतिनाथलाई लगाउने चन्दन भारतबाटै आउँछ । प्रधानमन्त्री भएलगत्तै मोदीले किलोको करिब २५ हजार रुपियाँ पर्ने सेतो चन्दन साढे दुई टन सन् २०१४ मा पशुपतिनाथमा अर्पण गर्नुभएको थियो । त्यसअघि चन्दन किनेरै ल्याउन पनि अड्चन थियो । उहाँले दिनुभएपछि १५ वर्षका लागि पशुपतिनाथमा चन्दनको अभाव टरेको छ । नेपालको कालीगण्डकीमा मात्र पाइने शालिग्राम भगवान् विष्णुको प्रतीक हो । कालीगण्डकी बगेर भारतको गङ्गा नदीमा मिल्छ । शालिग्राम नेपालमै रहन्छ ।
भारतका प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री शाहलाई उपहार दिनुभयो । उहाँले वाराणसी–त्रिवेणीधामको पवित्र गङ्गाजललाई घडामा भरेर दिनुभयो । बनारसी सिल्कको पछ्यौरा, रामायणको सम्पूर्ण कलमकारी चित्रकला र प्रधानमन्त्री शाहका दिवङ्गत पिता रामनारायण शाहको भारतमा अध्ययनरत रहँदाको दुर्लभ तस्बिर पनि उहाँको उपहार थियो । उपहारस्वरूप प्राप्त गङ्गाजलमा धार्मिक, प्राकृतिक र नेपालसँग ऊर्जा क्षेत्रमा हुने अपार सम्भावनाको अन्तर्य लुकेको संस्कृतिविद् टण्डन औँल्याउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालको हिमालबाट बगेका अनगन्ती नदी भारतको गङ्गामा समाहित हुँदाको शक्तिको स्वरूप नै गङ्गाजल हो, त्यो जलको केही अंश पशुपतिनाथमा चढाउन सके त्यसको अर्को लाभ हुने छ ।” दुई देशका प्रधानमन्त्रीमा आध्यात्मिकता र सकारात्मक ऊर्जा यसरी नै कायम रहेको खण्डमा नेपाल र भारतबिचको सहकार्यलाई थप बल पुग्ने अनुमान विज्ञहरू गर्नुहुन्छ । गोरखापत्र अनलाइन