पर्सा। नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका अधिवेशन तथा महाधिवेशनलाई नेतृत्व चयन र प्रतिस्पर्धासँगै संगठनलाई एकताबद्ध बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत पर्सा जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
समारोहलाई सम्बोधन गर्दै डा. कोइरालाले भने, “पार्टीका अधिवेशन तथा महाधिवेशनमा नयाँ नेतृत्व चयन हुन्छ र आन्तरिक प्रतिस्पर्धा पनि हुन्छ, यो स्वाभाविक प्रक्रिया हो। तर, हामीले यसलाई पार्टीभित्र एकता सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्छ।”
वडादेखि केन्द्रसम्मका अधिवेशनलाई एकताको अभियानका रूपमा अघि बढाउन सके आगामी सबै निर्वाचनमा कांग्रेस बलियो शक्तिका रूपमा स्थापित हुने उनको दाबी छ। “कांग्रेस एकताबद्ध भए कसैको तागतले हराउन सक्दैन,” उनले स्पष्ट पारे, “पद एउटा हुन्छ तर आकांक्षी साथीहरू धेरै हुनुहुन्छ। अधिवेशनमार्फत एकताको सन्देश दिन सके सबैले सबैलाई सहयोग गर्ने वातावरण बन्छ।”
सोही क्रममा डा. कोइरालाले २०३३ सालमा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कंदाको ऐतिहासिक प्रसंग स्मरण गर्दै नेताले गरेको निर्णय सबैले पालना गर्नुपर्नेमा जोड दिए। “२०३३ सालमा बीपीको नेपाल फर्कने निर्णयमा गणेशमान सिंह सुरुमा सहमत हुनुहुन्थेन,” उनले भने, “तर बीपीले निर्णय गरिसकेपछि गणेशमानजीले ‘बीपी मेरो नेता हो, उहाँले गरेको निर्णय मान्नु मेरो दायित्व हो’ भन्दै साथ दिएर नेपाल फर्कनुभयो।”
डा. कोइरालाले बीपी कोइरालाले देखाएको बाटोमा हिँड्न सके जस्तोसुकै संकटबाट पनि कांग्रेस र मुलुकलाई पार लगाउन सकिने विश्वास व्यक्त गरे। “बीपीले लिएको बाटो भनेको उहाँको अडान, निर्णय गर्ने शैली, साथीहरूका कुरा सुन्ने धैर्यता र परिस्थितिको विश्लेषण गर्ने तरिका हो,” उनले भने, “यी गुणहरू पछ्याउन सके हामी हरेक चुनौतीबाट पार पाउन सक्छौँ।”