पर्सा । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वीरगन्ज शाखाले यस वर्ष पनि १० हजार क्विन्टल धान खरिद गर्ने भएको छ। कम्पनीको केन्द्रीय कार्यालयले यस वर्षका लागि शाखालाई १० हजार क्विन्टल धान खरिदको कोटा उपलब्ध गराएको हो।
शाखा प्रमुख पंकजकुमार झाका अनुसार मंसिर अन्तिम सातादेखि धान खरिद सुरु गर्ने लक्ष्य राखिएको छ। यस वर्ष शाखाले सोना मन्सुली धान खरिद गर्ने तयारी गरेको उनले बताए। सरकारले सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ निर्धारण गरेको छ। गत वर्ष यही धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा थियो। यस वर्ष समर्थन मूल्य प्रतिक्विन्टल २ सय ३१ रुपैयाँ ६७ पैसाले बढेको छ।
धान खरिद सुरु गर्नुअघि खरिद प्रक्रिया तथा किसान व्यवस्थापनलगायत विषयमा आवश्यक निर्णय गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको स्थानीय प्राथमिक खरिद समितिको बैठक बस्ने झाले जानकारी दिए। मधेश प्रदेशका अन्य जिल्लामा पनि खाद्य कम्पनीले धान खरिद सुरु नगरेकाले प्रदेशभर एकैसाथ खरिद थाल्ने तयारी भइरहेको उनले बताए।
गत वर्ष पनि वीरगन्ज शाखाले १० हजार क्विन्टल धान खरिदको कोटा पाएकोमा सोही परिमाणमा खरिद गरेको थियो। गत वर्ष अत्यधिक भीडभाड र खरिद प्रक्रिया अव्यवस्थित हुन नदिन शाखाले पहिलोपटक टोकन प्रणाली लागू गरेको थियो। उक्त प्रणालीको नतिजा सकारात्मक देखिएकाले यस वर्ष पनि त्यसलाई निरन्तरता दिइने झाले बताए।
खाद्य कम्पनीले धान खरिद सुरु गर्नुअघि नै यस भेगमा निजी क्षेत्रले भने खरिद थालिसकेको हुन्छ। तर, अहिले निजी क्षेत्रले सोना मन्सुली धान प्रतिक्विन्टल ३ हजार ३ सय रुपैयाँमा खरिद गरिरहेको छ। यो सरकारी समर्थन मूल्यभन्दा प्रतिक्विन्टल ५ सय ६० रुपैयाँ कम हो।
सामान्यतया मंसिर अन्त्यतिर पुग्दा निजी क्षेत्रको खरिद मूल्य क्रमशः बढ्दै जाने गर्छ। खाद्यले खरिद सुरु गर्नुअघि निजी क्षेत्रले समर्थन मूल्यको हाराहारी वा त्यसभन्दा बढी मूल्य दिन थाले किसानले सरकारी कम्पनीलाई भन्दा निजी व्यापारीलाई धान बिक्री गर्ने गर्छन् । त्यसैले सरकारी समर्थन मूल्य निर्धारण भए पनि खरिद सुरु हुने समय र बजारमा निजी क्षेत्रले दिने मूल्यका आधारमा किसानले धान बिक्री गर्ने माध्यम तय गर्दै आएका छन्। शंकर आचार्य / कान्तिपुर