जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा कानुनविपरीत सञ्चालित चार अस्पतालले मुख्यमन्त्रीलाई चाबी बुझाएका छन् । स्थानीय निकाय तथा प्रदेश सरकारमा दर्ता नभएका, नियमित नवीकरण नभएका, नियमित प्रक्रिया पुरा नगरेका तथा कानूनी प्रक्रिया नगरेका जनकपुरधाम चारवटा निजी अस्पतालले मुख्यमन्त्रीलाई अस्पताल बन्द गरी चाबी बुझाएका हुन्।
मुख्यमन्त्रीले सतिष कुमार सिंहले शनिबार बिहानदेखि थालेको अनुगमनमा २० वटा अस्पताल अनुगमन गरेकोमा १९ वटाले नियमित कानुनी प्रक्रिया नपु¥याएको पाइएपछि अस्पतालमा भएका बिरामीलाई तत्काल सिफ्ट गरी २४ घण्टाभित्र ताला लगाउन निर्देशन दिएको थियो।
मुख्यमन्त्रीको निर्देशनपछि अवैधानिक रूपमा सञ्चालित अस्पतालहरूले बिरामीको उपचारात्मक व्यवस्था गरी ताला लगाएर मुख्यमन्त्री कार्यालयमा चाबी बुझाएको हो।
ताला लगाएर समाचार तयार पारुन्जेलसम्म जनकपुर सिता हस्पिटल, मुस्कान अस्पताल, अरमान हस्पिटल र बिएन हस्पिटल एण्ड रिसर्च सेन्टरले मुख्यमन्त्री कार्यालयमा चाबी बुझाएको बताइएको छ।
शनिबार बिहानदेखि मुख्यमन्त्री सिंहले प्रमुख सचिव मदन भुजेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. राजिव मिश्रा, डा. सन्तोष ठाकुर लगायतको टोलीले जनकपुरधाम उप–महानगरपालिका भित्रका २० अस्पतालको अनुगमन तथा कागजात चेकजाँच गरेका थिए।
जसमध्ये जीवन ज्योति हस्पिटल एण्ड रिसर्च सेन्टर, बिएन हस्पिटल एण्ड रिसर्च सेन्टर, जनकपुर ग्राण्डी हस्पिटल, साइन मल्टिस्पेसियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर, राम मेमोरियल हस्पिटल, समर हस्पिटल अवैध रूपमा सञ्चालित रहेको पाइएको थियो ।
यसैगरी केयर मेडिकल सेन्टर, नेपाल अपोलो हस्पिटल, मिथिला केयर क्लिनिक, जनकपुर मोर्डन हस्पिटल एण्ड रिसर्च सेन्टर, माँ गायत्री मेमोरियल हस्पिटल, स्वतिका हेल्थ केयर अस्पताल, लाइफ केयर एण्ड रिसर्च सेन्टर, ओम दिर्घायु हस्पिटल हस्पिटल, अरमान हस्पिटल, नैनाँ हस्पिटल र मिहिला इन्टरनेशनल हस्पिटल लगायतका निजी अस्पतालहरू सरकारी मापदण्डलाई बेवास्ता गरेको भेटिएको थियो।
जनकपुधामको मुस्कान अस्पतालको लापरबाहीले पित्तथैलीको अप्रेसन गरेको एक बिरामीको २० दिनसम्म होस् नआएपछि मुख्यमन्त्री सिंहले निजी अस्पतालको अनुगमन गरेका हुन्। साभार : अन्नपुर्ण पोष्ट