रौतहट । दाहिने खुट्टामा गम्भीर चोट लागेर कमजोर हुँदै गएको ‘यमगज’ हात्तीले फेरि स्थानीयलाई दु:ख दिन थालेको छ । घाइते अवस्थामा हिँडडुल गर्न नसक्ने यमगजलाई स्थानीयले मकै, केरा खुवाउँथे । माया गर्थे । उपचारपछि समान्य तंग्रिएको हात्तीले डेढसाता यता घर भत्काउने, बालीमा क्षति पुर्याउने गरेको छ ।
यही कारण स्थानीय चिडिएका छन् । हात्तीलाई नियन्त्रणमा लिएर निकुञ्ज लैजान प्रशासन गुहारिरहेका छन् ।घर भत्काउने र बालीमा क्षति पुर्याउन थालेपछि केही दिनअघि स्थानीयले यमगजमाथि इँटाढुंगा लाठी र आगो लगाएर धपाउने प्रयाससमेत गरेका थिए ।
पर्सा राष्ट्रिय निकुञ्जबाट आएको यमगज सात महिनादेखि रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेला र वडानम्बर–३ को गैंडाटार क्षेत्रमा अखडा जमाएर बसेको छ । दाहिने खुट्टामा चोट लागेर प्राय: एकै स्थानमा बस्ने हात्तीको चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आएका पशु चिकित्सक अमिर सडौला र वन्यजन्तु प्राविधिक तीर्थ लामासहितको टोलीले डार्ट गरेर दुई पटक एन्टिबायोटिक दिएको थियो ।
अहिले जुडिबेला, गैंडाटार र कहिले राजमार्ग छेउमा यताउता गर्न थालेको छ । वडानम्बर–२ का अध्यक्ष दुत्तबहादुर थिङले मानव बस्तीमा दु:ख दिन थालेको जंगली हात्तीलाई कुनैपनि हालतमा निकुञ्जमा लैजान पहल गर्नुपर्ने बताए । ‘घाइते भनेर सबैले माया गर्थे । उपचारपछि राम्रो हुFदै गयो,’ उनले भने, ‘अहिले घर भत्काउने र बाली खाएर हैरान पार्न थालेको छ । यसलाई सम्बन्धित निकायले चाँडै निकास निकाल्नु पर्छ ।’ हात्तीले वडाअध्यक्ष थिङको गाउँकै फूलमाया कुँवरको घर भत्काइदिएको छ । ‘खुट्टामा चोट लागेर एकै ठाउँमा बस्दा माया लागेर हामीले नै खानेकुरा दिन्थ्यौं,’ उनले भनिन्, ‘अहिले हामीलाई नै हात्तीले उठिबास लगाउन थाल्यो ।’
सुरुमा यमगजले स्थानीयको आधा दर्जन घर भत्कायो । त्यसपछि उनलाई धपाउन वन र प्रशासनले प्रयास गर्यो । त्यहीबीच यमगजको खुट्टामा गम्भीर चोट देखीयो । खोच्याएर हिँड्न थालेपछि स्थानीयले खानेकुरा दिन्थे । चितवन, पर्सा राष्ट्रिय निकुञ्ज तथा वन मन्त्रालयलाई हात्ती व्यवस्थापनका लागि ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएको भन्दै कांग्रेस सांसद देवप्रसाद तिमल्सिनाले प्रतिनिधिसभामै सरकारको ध्यानाकर्षण गराएका थिए । चन्द्रपुर–३ का वडाअध्यक्ष बोधनाथ देवकोटाले हात्तीको आक्रमणबाट स्थानीय मिनाराई, सन्तबहादुर रुम्बा, बलीमाया लोप्चन, छेनामसिंह लोप्चन, बोम्जन साइला, साइँला गोले र सुबास ठोकरको घर भत्काएको जानकारी दिए ।
त्यस्तै, जुडिबेलाका रविन्द्र लामा, प्रदीप मम्जन, खिकबहादुर पन्त, राजेन्द्र ठाकुर, तारजन मगर, शुक्र पुलामी, माइला कँडेल, केशव पाठक, बद्री कार्की, रवि पुलामी, कमलबहादुर विक र उमेश थापाको घर भत्काएको वडाअध्यक्ष थिङले जानकारी दिए ।