जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित एक वाटरपार्कमा शनिबार विद्यार्थी र पार्क व्यवस्थापनबीच झडप भएको छ।
विशेष छुटको नाममा अत्यधिक सङ्ख्यामा विद्यार्थी बोलाइए पनि प्रवेश नपाएपछि आक्रोशित उनीहरूले पार्कमा तोडफोड गरेका हुन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको थियो भने दश जनालाई नियन्त्रणमा लिएको छ।

कृष्ण फाउन्डेशन नामक संस्थाले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरी वाटरल्याण्ड पार्कका सञ्चालकसँग समन्वय गरेर विशेष छुटमा टिकट बिक्री गरेको थियो।
सामान्यतया ९५० रुपैयाँ पर्ने टिकट १०० रुपैयाँमा ई–सेवामार्फत बेचिएपछि शनिबार बिहानै ठूलो सङ्ख्यामा विद्यार्थीहरू पार्क पुगेका थिए। तर, पार्कमा ठाउँ अभाव भएको भन्दै कर्मचारीले प्रवेशमा रोक लगाएपछि विवाद सुरु भएको हो।
विवादकै क्रममा पार्कका कर्मचारीले विद्यार्थीमाथि हातपात गरेको आरोप लगाउँदै आक्रोशित विद्यार्थीहरू तोडफोडमा उत्रिएका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवका अनुसार, स्थिति नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएपछि अश्रुग्यास प्रहार गरिएको हो।

घटनामा संलग्न भएको आशङ्कामा दश जनालाई पक्राउ गरी सोधपुछ भइरहेको र ढुङ्गामुढाबाट पाँच जना प्रहरी सामान्य घाइते भएको उनले जानकारी दिए।
पार्क व्यवस्थापक अभिषेक गोयन्काले कृष्णा फाउन्डेशनले शैक्षिक संस्थाको प्रचारप्रसारका लागि शनिबार बिहान ९ देखि ११ बजेसम्म दुई घण्टाका लागि पार्क लिएको बताए।
‘पार्कको क्षमता १ हजारदेखि १५ सय जनासम्म अट्ने हो, तर उहाँहरूले २ हजारभन्दा बढी विद्यार्थी लिएर आउनुभयो,’ गोयन्काले भने, ‘विद्यार्थीको सङ्ख्या बढी भएकाले व्यवस्थापन गर्न नसक्दा तोडफोडको स्थिति सिर्जना भयो।’
विद्यार्थीहरूले गेट, लाइट र सजावटका सामग्री तोडफोड गर्दा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिए पनि यकिन विवरण आउन बाँकी रहेको उनले सुनाए।
कृष्ण फाउन्डेशनले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई आफूले भनेको कलेजमा अध्ययन गर्न प्रेरित गर्ने उद्देश्यले एक हप्ताअघिदेखि नै वाटरपार्कमा भेला पार्ने योजना बनाएको थियो।
सस्तो टिकटमा पार्कमा प्रवेश गरी मनोरञ्जन लिन पाइने भएपछि अपेक्षाभन्दा बढी विद्यार्थी उपस्थित हुँदा उक्त अप्रिय घटना भएको हो। साभार : नागरिक दैनिक