काठमाडौँ । मंगलबार बिहानै तिब्बतबाट आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि सुरु भएको विपत्तिले ठूलो जनधनको क्षति भएको छ । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो । सुक्खा बन्दरगाहमा पनि ठूलो क्षति भएको छ ।
बाढीमा ६ चिनियाँ नागरिकसहित कम्तीमा १९ जना सम्पर्कविहीन रहेका छन् । रसुवागढीसहित ४ जलविद्युत् आयोजनामा क्षति सुक्खा बन्दरगाहमा रहेका सामानसहितका २४ कन्टेनर गाडी, ६ ट्रक र करिब ३५ ईभी गाडी बगेका छन् । बाढीपछि उद्धार र खोजीकार्य तथा सडक सञ्चालनलगायतका कामबारे रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलसँग संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंश :
अहिले सिंगो सुरक्षा संयन्त्र के काममा खटिएको छ ?
हाम्रो जिल्लाको सम्पूर्ण सुरक्षा संयन्त्र नै फिल्डमा छ । हामीले उद्धारका कामहरू जारी राखेका छौं । आज बिहान हामीले स्थलगत अध्ययन गरेर फर्केका छौं । बाढीमा फसेकाहरूको उद्धार जारी छ । हामीले ३४ वटा फ्लाइटबाट १३६ जनाको उद्धार गरेर काठमाडौं पठाएका छौं । तीमध्ये १२७ जना विदेशी नागरिक रहेका थिए ।
आज बिहान पनि हामीले फसेका स्वदेशी तथा विदेशी गरेर १५० भन्दा बढीलाई सुरक्षाकर्मीको स्कर्टिङमा सुरक्षित स्थानमा सारेका छौं । स्कर्टिङ गरेर सुरक्षित स्थानमा ल्याउने क्रममा सशस्त्र प्रहरीका सहायक हवल्दार विशाल थापा भीरबाट खसेर घाइते भए । उनको पनि उद्धार गरेर ल्याउने काम भइसकेको छ । उहाँलाई पनि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको छ ।
बाढीको सबैभन्दा ठूलो प्रभाव कहाँ परेको देखियो ?
सबैभन्दा ठूलो क्षति मितेरी पुल बगाएको नै हो । भन्सारको यार्डमा पनि धेरै क्षति भएको छ । भन्सार यार्डमा १५ देखि २० वटा गाडीहरू पुरिएको देखिन्छ । तीमध्ये केही पूरा जसो पुरिएका छन् भने केही आधा मात्रै । यार्डमा धेरै ठाउँमा धाँजा फाटेका छन् । त्यो क्षेत्रलाई हामीले रेड एरिया घोषणा गरेका छौं । यार्डमा रहेका गाडीभित्र पनि सामानहरू छन् । सुरक्षाकर्मीले ती गाडीका मालिकहरूसँग सम्पर्क गरेर ती सामानहरू सुरक्षित स्थानमा सार्न समन्वय गरिरहेका छन् । बेपत्ता भएका भनिएका कतिपय मानिसहरू यार्डबाटै बगेका हुन सक्ने र कतिपय त्यहीँ पुरिएका हुन सक्ने आशंका छ । त्यसको खोजी कार्य पनि जारी छ ।
खोजी कार्य कति सजिलो देखिन्छ ?
खोजी कार्यका लागि हामीलाई हेभी इक्विपमेन्टहरू चाहिने देखिन्छ । त्यस्ता उपकरणहरू हामीसँग तत्काल छैनन् । बाटो नखुलेसम्म त्यस्ता उपकरणहरू ल्याउन पनि समस्या छ ।
बाढीले सडकमा पनि क्षति पुर्याएको छ ?
हिजो हामी हिँडेर यहाँसम्म आइपुग्दा १० देखि १२ ठाउँमा सडक अवरुद्ध छ । सडक इन्जिनियरका अनुसार १,१०० मिटर सडक १० ठाउँमा ठूलो क्षति पुगेको छ ।
अहिले तत्कालै प्राथमिकतामा राखेर गर्नुपर्ने कामहरू के–के देख्नुभयो ?
बाढीको प्रभाव धेरै ठाउँमा परेको छ । २ हजारभन्दा धेरै मानिसको बसोबास भएको ठाउँमा बाढीले सम्पर्कविच्छेद गराएको छ । हामीले पाएको सूचनाअनुसार त्यहाँ तीन–चार दिनका लागि मात्रै पुग्ने खाद्यान्न मौज्दात छ ।
अब हामीले त्यहाँ खाद्यान्न पुर्याउने तयारी थाल्नुपर्छ । त्यहाँ विद्युत् र टेलिफोन सेवा पनि अवरुद्ध छन् । त्यसैले गर्दा उद्धार र अरु कामहरू गर्न अप्ठ्यारो भएको छ । हामीले चिनियाँ सीमाबाट केही हदसम्म सम्पर्कको काम गरिरहेका छौं । टेलिफोन सेवा सुरु गर्न र विद्युत् आपूर्ति सुचारु गर्न पनि हामीले प्रयास थालेका छौं । कान्तिपुर/विमल खतिवडा